काठमाडौं, ३ फागुन । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिताको छैठौं संस्करण काठमाडौँमा सुरु भएको छ । प्रतियोगिताको पुर्वमन्त्री मातृकाप्रसाद यादवले ब्याटिंग तथा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले बलिंग गर्दै उद्घाटन गरे ।
टियु क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिता अन्तर्गत पहिलो दिनको ७ वटा खेलमा सेन्चुरी बैंक, आईसीएफसी फाइनान्स, सनराइज बैंक, एनसेल ‘ए’ र ग्लोबल आईएमईले जित हात पारे। आईसीएफसी फाइनान्स र एनसेल ‘ए’ ले दुवै खेलमा जित हात पारे।
दिनको पहिलो खेलमा साविकको विजेता सेन्चुरी बैंकले नेपाल रास्ट्र बैंकलाई ६ विकेटले पराजित गर्यो। नेपाल राष्ट्र बैंकले दिएको ५२ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच सेन्चुरीका सुरज तिमिल्सिना चुनिए जसले ३३ रन बनाउनुको साथै १ विकेट समेत लिए।
दोश्रो खेलमा एनसेल ‘ए’ ले ग्लोबल आईएमई बैंकलाई ५ विकेटले पराजित गर्यो। ग्लोबल आईएमईले दिएको ७७ रनको लक्ष्य एनसेल ‘ए’ ले १ विकेट गुमाएर पुरा गर्यो। खेलमा प्लेयर अफ द म्याच चुनिएका एनसेल ‘ए’ का सौरभ शाहए २८ रन बनाए।
तेश्रो खेलमा आईसीएफसी फाइनान्सले एनसेल ’बि’ लाई ११ रनले पराजित गर्यो। आईसीएफसीले दिएको ८२ रनको लक्ष्य पछ्याउने क्रममा एनसेल ’बि’ ले ७० रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका आईसीएफसीका रिमेश रेग्म्मीले ३६ रन बनाएका थिए।
चौथो खेलमा सनराइज बैंकले सुर्य नेपाललाई ६ विकेटले पराजित गर्यो। सुर्य नेपालले दिएको ७२ रनको लक्ष्य सनराइजले विकेट नगुमाई पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सनराइजका नितेश भट्टराईले २९ रन बनाएका थिए।
पाँचौ खेलमा ग्लोबल आईएमई बैंकले गुर्खाज फाइनान्सलाई ६ विकेटले पराजित गर्यो। गुर्खाजले दिएको ६३ रनको लक्ष्य ग्लोबल आईएमईले विकेट नगुमाई पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका ग्लोबल आईएमईका सौरभ श्रेष्ठले २० रन बनाउनुको साथै १ विकेट लिए।
छैठौं खेलमा आईसीएफसी फाइनान्सले दोश्रो जित दर्ता गर्ने क्रममा नेपाल टेलिकमलाई २५ रनले पराजित गर्यो। आईसीएफसीले दिएको ८१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल टेलिकमले ५५ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका आईसीएफसीका नितेश तिवारीले ३ विकेट हात पारेका थिए।
दिनको सातौँ तथा अन्तिम खेलमा एनसेल ’ए’ ले गुर्खाज फाइनान्सलाई २५ रनले पराजित गर्यो। एनसेलले दिएको ९९ रनको लक्ष्य पछ्याउने क्रममा गुर्खाजले ७३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका एनसेलका सबिन्द्र जोशीले २२ रन बनाएका थिए।
उक्त प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पूर्वमन्त्री मातृकाप्रसाद यादवले सरकारको नीति पनि अब खेलतिर केन्द्रित हुनुपर्ने बताए । उनले भाषणमात्रै गरेर खेलकुदको विकास नहुने पनि धारणा राखे । नेपाली खेलाडीहरुले आज नेपाललाई विश्वमा चिनाएको उनको भनाई छ । यस्ता कर्पोरेट प्रतियोगिताका कारण दासत्वबाट नभई सेवा भावनाबाट मानिसलाई अघि बढ्न मद्दत पुग्ने पनि उनको विश्वास छ ।
त्यस्तै, माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले यस्तो प्रतियोगिताले कर्पोरेट हाउसबीच सहकार्य गर्न टेवा पुग्ने बताए । उनले भने,‘यस्ता खाले प्रतियोगिताले कर्पोरेट हाउसबीच समन्वय गर्न मद्दत पुग्नेछ ।’ देश चिनाउनको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको खेलकुद भएको बताउँदै नेपाललाई विश्वसामू चिनाउनको लागि पनि नेपाली खेडालीहरुले महत्वपूर्ण भूमिका खेलेको महतोको भनाई छ ।
उनले भने,‘विश्वमा आफ्नो देशलाई चिनाउने महत्वपूर्ण माध्यम भनेको खेल नै हो । हाम्रो बैंकले पनि खेलकुदलाई प्रोत्साहनको लागि यो प्रतियोगिताको आयोजना गरेको छ । यस्ता प्रतियोगिताले कर्मचारीमा पनि काम गर्दा हुने स्ट्रेस खेलको माध्यमबाट कम गर्न मद्दत पुर्याउनेछन्, प्रतियोगितमा भाग लिँदा फेरि नयाँ उत्साह हाँसिल गर्ने र काम गर्ने वातावरण बन्छ ।’
प्रत्येक मानिस स्वस्थ बन्नको लागि उसको जीवनमा खेल अति नै आवश्यक भएको उनको भनाई छ । ‘हाम्रो देशको समृद्धिको लागि पनि प्रत्येक नागरिक स्वस्थ रहनु पर्छ ।–उनले भने ।
कार्यक्रममा पत्रकार ऋषि धमलाले पनि यस्तो किसिमको प्रतियोगिताको आयोजना गर्दा नेपालको खेलकुद क्षेत्रको विकास र सम्र्वद्धन हुने विश्वास दिलाए । माछापुच्छ्रे बैंकले खेललाई प्राथमिकता दिएको भन्दै उनले खुशी व्यक्त गरे ।
उनले भने,‘खेल क्षेत्रको विकासको लागि कर्पोरेट हाउसबाट जुन उत्साहका साथ यस्तो प्रतियोगिता सुरु भएको छ, यो अत्यन्तै खुशीको कुरा हो । हामीले त यो प्रतियोगितालाई प्राईम टाईम्स टिभी, नेपाली रेडियो नेटवर्क र रिपोर्टर्स नेपाल डटकममार्फत प्रत्यक्ष प्रशारण गरेका छौं ।’
उनले यस्ता खाले प्रतियोगिताले कर्पोरेट हाउसबीच एक किसिमको सहकार्यको लागि वातावरण बन्ने विश्वास दिलाए । उनले भने,‘कर्पोरेट हाउटबाट खेलकुदमा पछिल्लो समय विशेष महत्व दिईएको छ । यस्तै सिरीज हुँदै गयो भने आगामी दिनमा अझै राम्रो हुन्छ । क्रिकेटमा झेल हुँदैन् । विश्वमै यो खेल सबैभन्दा लोकप्रिय छ । यो प्रतियोगिताले माछापुच्छ्रेको सञ्जाल बलियो बनाउन पनि मद्दत पुगेको छ ।’