Logo

रसुवागढी नाका अझै एक साता सञ्चालन नहुने



रसुवा, फागुन ४ । नेपालतर्फ स्वास्थ्य सेवा व्यवस्थित हुन नसक्दा रसुवागढी नाका अझै एक साता सञ्चालन नहुने भएको छ। रसुवागढी नाकामा रहेको हेल्थ डेक्सलाई प्रभावकारी रूपले सञ्चालन नगर्दासम्म नाका सञ्चालन ल्याउन नसकिने भएको हो। चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने आशंकामा नाकामा सवारी तथा मानिसको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। हेल्थ–डेक्समा आइतबार विशेषज्ञसहितको स्वास्थ्य टोली पठाउने स्वास्थ्य मन्त्रालयको तयारी छ।

टोली गएर डेक्सबाट सेवा दिन थालेपछि मात्र नाका सञ्चालन हुनेछ। आइतबार टोली आइपुगेको खण्डमा एक साताभित्र नाका सञ्चालनमा गर्ने तयारी छ। चिनियाँ टोलीले केही दिनअघि नाका सञ्चालनमा ल्याउने विषयमा नेपाली पक्षसँग कुराकानी गरेको थियो।

नाका सञ्चालनमा आए पनि तत्काल कारोबार भने सुरु भइनहाल्ने रसुवा भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले बताए। ‘ल्होसार मनाउन गएका कामदार तथा कर्मचारी नर्फकिएका कारण चीनतर्फ तत्काल कारोबार सुरु हुने देखिएको छैन,’ उनले भने, ‘नाका सञ्चालनमा आए पनि मान्छेको आवतजावतमात्र हुनेछ।’

चीनको ट्रान्सपोर्टमा सामग्री छुटाउने मान्छे आइसकेका छैनन्। बिदामा गएका कर्मचारीलाई फर्कन दिइएको छैन। नाकामा बैंकिङ कारोबार गर्ने कर्मचारी पनि फर्किएका छैनन्। नेपालले नाकामा स्वास्थ्य जाँचलाई प्रभावकारी रूपले सञ्चालन नगर्दासम्म रोग भित्रिने शंकाले नाका खोल्न नसकेको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्