Logo

सरकारलाई प्रर्याप्त सहयोग निजी क्षेत्रको बाचा



लुम्बिनी, ४ फागुन : सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६१औँ साधारणसभामा सहभागी वक्ताले सरकारलाई प्रर्याप्त सहयोग गर्ने बाचा दिएका हुन् । भैरहवामा आज आयोजित साधारणसभामा उनीहरुले सरकारलाई निजी क्षेत्रले बलियो साथ रहेको बताएका हुन् ।

प्रदेशसभा सदस्य सन्तोष पाण्डेले उद्योगी व्यवसायीले जस्तोसुकै कठिन परिस्थतिमा पनि सरकारका पक्षमा काम गरेको बताए । सङ्घीय समाजवादी फोरमका प्रदेश नं ५ का सचेतकसमेत रहेका पाण्डेले निजी क्षेत्रले सरकारलाई र सरकारले निजी क्षेत्रको सहयोग लिएर अगाडि बढेमा समृद्ध नेपालको सपना छिट्टै साकार हुने बताए।

सो अवसरमा अर्का प्रदेशसभा सदस्य फकरुद्दीन खानले निजी क्षेत्रको सहकार्य र सहयोगले नै सरकार अगाडि बढेको उल्लेख गरे । नेपाली काँग्रेसका नेतासमेत रहेका खानले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर उद्योग तथा व्यापारीको अर्थतन्त्र चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले निजी क्षेत्रले जहिले पनि सरकारको हरेक निर्णय र नियमलाई सहर्ष स्वीकारेर अगाडि बढिरहेको बताए । उनले देशको कूल ग्रार्हस्थ उत्पादनमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रको साथ र सहयोगलाई विश्लेषण गरेर अगाडि बढेमा फलदायी हुने बताए ।

यसैगरी अर्का केन्द्रीय सदस्य राजेश अग्रवालले सेज र निर्माणाधीन विमानस्थललाई छिट्टै सम्पन्न गरेमा प्रदेश नं ५ का मात्रै नभएर नेपालको सिङ्गो निजी क्षेत्रले लाभ लिने बताए । उनले राज्य र जनता औद्योगिकमुखी हुनुपर्नेसमेत जोड दिए ।

सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रमुख उमा काफ्लेले स्थानीय सरकार जहिले पनि उद्योगी व्यवसायीको हितमा केन्द्रित रहेको बताए । उनले प्रदर्शनी तथा महोत्सव गर्नुका लागि मण्डपको अभाव रहेको नगरभित्र नगरपालिकाले साढे छ बिघा जग्गा प्राप्त भएको भन्दै दुई महिनामा डिपीआर सम्पन्न हुने जानकारीसमेत दिए ।

उक्त कार्यक्रममा संविधानसभा सदस्य ओमप्रकाश यादव, पूर्वसांसद आदित्यनारायण कसौधन, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर हमाल, पूर्वअध्यक्ष ओमकार गौचन, सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपाने लगायतले मन्तब्य राख्दै निजी क्षेत्र र सरकारबीचको सम्बन्ध मजबुत हुनुपर्ने बताए।

यसैबीच साधारणसभाका अवसरमा उद्योग व्यवसाय कृषि तथा पर्यटन क्षेत्रको चलायमान आ–आफ्नो क्षेत्रबाट उल्लेखनीय भूमिका खेलेको भन्दै विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । सङ्घका महासचिव नेत्रप्रसाद आचार्यका अनुसार सम्मानित हुनेमा पत्रकार सम्झना शर्मा, मोहमद हबिब, प्रख्यात बञ्जाडे रहेका छन् ।

यसैगरी सामुदायिक विद्यालयकोतर्फबाट विसं २०७४ मा एसइई उत्कृष्ट लीलाराम न्यौपानेका नवराज ढकाल र सुसंस्कृत माविका हेमन्त बस्नेतलाई नगदसहित सम्मानित गरिएको छ ।

त्यस्तै सङ्घका सदस्यमध्ये सबैभन्दा बढी तेस्रो मुलुक निर्यात गर्ने सिद्धार्थ आधुनिक फ्लोहर मिलका ऋषिकेश अग्रवाल, भारततर्फ निर्यात गर्ने जगदम्बा स्पेनिङ मिलका अनिल जाटिया, पुरानो सदस्य भुदेव ट्रेडिङ, पञ्चकन्या प्लाष्टिक र सुनगाभा ट्राभल्सलाई समेत सम्मानित गरिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्