काठमाडौं, ४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको दाबी गरेका छन् । उनले जन्मदिवस गुरु जातिको संस्कार अनुसार मनाएर पारिवारिक जमघट गरेको उल्लेख गरेका छन् । जन्मदिनमा साँझ निवासमा पारिवारिक जमघटको व्यवस्था गरिएको उनको भनाई छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीको निजी सचिवालयबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौं ।’
मुख्यमन्त्री गुरुङले कार्यकक्षमै मदिरा पान गरेको खबर सार्वजनिक भएको थियो । तस्बिर र भिडियो बाहिरिएपछि उनी विवादमा परेका थिए । भिडियोमा उनको टेबुलमा रक्सीको बोतल र रक्सी भरिएको गिलास राखिएको देखिन्छ ।