Logo

गृहजिल्लाबाट प्रधानमन्त्रीको उद्घोष : सरकारविरुद्ध चलखेल सह्य हुँदैन



झापा, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शुरु गरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरुबाट चलखेल भइरहेको बताएका छन् । झापाको दमक–चिसापानी (रवि) कालोपत्र सडकको आज यहाँ शिलान्यास समारोहमा उनले विकास र समृद्धि नचाहने शक्ति सरकारलाई चारैतिरबाट कमजोर बनाउन उद्यत भएको बताए। त्यस्ता चलखेलविरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सरकार भएकाले त्यस्ता प्रतिक्रियावादी शक्तिहरुसँग जुध्न सक्षम भएको र सरकारविरुद्धका त्यस्ता चलखेल सरकारलाई सह्य नहुने उल्लेख गरे। आफू देश समृद्धि बनाउन लडाइँको मैदानमा भएको बताउँदै उनले भने,“सुशासन कायम गरेर देशलाई विकास र समृद्ध बनाउन कसैले रोकेर रोक्न सक्दैन ।”

सरकार बनेको दुई वर्षमा उल्लेखनीय प्रगति भएको जिकिर गर्दै उनले देशलाई समृद्धि बनाउने द्रुत काम लक्ष्यअनुसार पूरा हुनेछ बताए। प्रधानमन्त्री ओलीले अहिले देशले काँचुली फेर्दै गएको भन्दै विकासको विरोध होइन सँगै काम गरेर अघि बढ्नुपर्ने खाँचो रहेको औँल्याए ।

देशले द्वन्द्व होइन शान्ति र समृद्धि चाहेको उल्लेख गर्दै उनले अब परिवर्तनका नाममा गरिने हिंसा र आन्दोलन गर्नुपर्ने दिन सकिएको बताए । देशमा सडक बालबालिका, सडकमा मागिहिँड्ने वृद्धवृद्धा मुक्त देश बनाउन काम शुरु भएकाले त्यसले साकार रूप लिने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले सरकारी तथा सार्वजनिक सम्पत्ति कब्जा गर्ने कार्यमा कसैलाई छुट नभएको र त्यस्ता गलत कार्यमा संलग्न भए सरकारले कारवाही गर्ने बताए । जग्गाविहीन सुकुम्वासीलाई सरकारले घर बनाइदिने भन्दै उनले सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने काम शुरु भइसकेको जानकारी दिए। रासस file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot