Logo

रक्सी र रेड लाइट एरियाले विवादमा परेका मुख्यमन्त्री गुरुङ



काठमाडौं, ४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पछिल्लो समय फेरि विवादमा आएका छन् । उनी यसपटक कार्यकक्षमै रक्सीसहितको भोज गरेर विवादमा आएका हुन् ।

गत हप्ता उनले कार्यकक्षमै रक्सी खन्याउँदै पिएको भिडियो भाइरल भएको छ । यद्यपि, उनले कार्यकक्षमा नभई निवासमा रक्सी पिएको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गर्न लगाए । तर, रक्सी पिइरहेको कोठामा राष्ट्रिय भण्डा, राष्ट्रपति विद्या भण्डारीको तस्बिर समेत देखिन्छ ।

गुरुङ विगतमा पनि विवादमा आएका थिए । उनले देशमा रेडलाइट एरिया राख्नुपर्ने अभिव्यक्ति दिएका थिए । यसले उनलाई विवादमा ल्याएको थियो ।

कतिपयले उनलाई जातीयतासम्बन्धि सोच राख्ने नेताका रुपमा लिने गरेका छन् । पछिल्लो समय सार्वजनिक भिडियोमा पनि उनले एक व्यक्तिको जाति सोधेका छन् । जातिवादी सोचका कारण पनि उनी विवादमा पर्ने गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिएका गुरुङले गण्डकी प्रदेशमा प्रभावशाली प्रतिष्पर्धीलाई उछिन्दै नेकपाबाट मुख्यमन्त्री बन्ने सफलता हासिल गरेका थिए । तर, उनको पछिल्लो गतिविधिले विवाद जन्माएको छ । गुरुङ विवादमा आएपछि उनको नेकपाभित्र आलोचना भइरहेको छ । उनको विकल्प खोज्नुपर्ने विषय समेत उठ्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot