Logo

वितरणतर्फको चुहावट एकल अङ्कमा



काठमाडौँ, ५ फागुन । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीमा रहेको चुहावटलाई एकल अङ्कमा झार्न सफल भएको छ । गत साउन अन्त्यसम्ममा रहेको ११.२८ प्रतिशतमा रहेको वितरण प्रणालीको चुहावटलाई छ महिनाभित्र ९.७८ मा झार्न सकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अबको छ महिनाभित्र ८.५ प्रतिशतमा समेट्ने लक्ष्य राखेको छ । १५.३२ प्रतिशत रहेको समग्र चुहावटलाई चालू आवमा १३ मा झार्ने लक्ष्यका साथ प्रणाली सु्धार तथा चोरी नियन्त्रण अभियानलाई सक्रिय बनाइएको प्राधिकरणले जनाएको छ । आव २०७२/७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५/७६ सम्ममा १५.३२ प्रतिशतमा झारिएको छ । चालू आर्थिक वर्षको बाँकी छ महिनामा चुहावट नियन्त्रणको निर्धारित लक्ष्य हासिल हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दाबी छ । चुहावट नियन्त्रणबाट मात्रै वार्षिक रूपमा झन्डै १० अर्ब रुपियाँ थप आम्दानी भएको उनको भनाइ छ । घिसिङले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरेका छन् ।

प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवाप्रवाह सुधारमा केन्द्रित रहेर सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुख र मातहतका एक सय २९ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
चुहावट नियन्त्रण र सेवा प्रवाहका लागि दिइएका लक्ष्य पूरा गरेमा नगद र गैरनगद प्रोत्साहन पाउने व्यवस्था गरेका छौँ, उनले भने, अहिले यसको सकारात्मक प्रभाव देखिन थालेको छ । प्राधिकरणले चुहावट नियन्त्रण, बक्यौता असुलीलगायतका लक्ष्यको प्रगतिका आधारमा ग्राहक तथा वितरण सेवातर्फ कर्मचारीलाई कार्यसम्पादनमा आधारित पुरस्कार (ईपीआर) लागू गरेको छ ।

पछिल्लो समय प्राधिकरणले चोरी नियन्त्रण, बक्यौता महसुल असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएका ग्राहक पहिचान गरी रिडिङ गर्ने कामलाई तीव्रता दिँदै आएको छ । प्राविधिक चुहावट नियन्त्रणका लागि सब–स्टेसनको क्षमता विस्तार गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका काम अभियानकै रूपमा चलाइरहेको घिसिङले जानकारी दिएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot