Logo

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति



काठमाडौँ, ५ फागुन । एक दशकअघि हजार रुपियाँको लगानीबाट व्यवसाय सुरु गर्नुभएका व्यक्ति करोडौँ रुपियाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो, २०५७ सालमा मकवानपुरबाट पोखरा आएर व्यवसाय थाल्नुभएका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौँको मालिक बनेको छ ।

पश्चिम नेपालका ग्रामीण क्षेत्रबाट दाल, गेडागुडीलगायतका कृषि उत्पादन ल्याएर जानकी एग्रो प्रोडक्ट उद्योग सञ्चालन गर्नु भएका तिमिल्सिनाको अनुभवले कुनै पनि पेसा, व्यवसायमा मिहिनेत र निरन्तरता दिए सफलता सहजै हात पार्न सकिन्छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले रुकुम, रोल्पा, सल्यान, दाङ, पर्वतजस्ता जिल्लाहरूमा कृषि उत्पादनमा ल्याएर बजारसम्म पु¥याउने काम गर्नुभएका उनले भने, पश्चिम नेपालका दुर्गम ठाउँका किसानसँग उत्पादन थियो तर बजार थिएन, मैले बजार खोज्ने काम गरँे, किसानले पनि मूल्य पाए, मैले पनि आर्थिक प्रगति गरेँ । व्यवसाय सुरु गर्दाको अवस्थाबाट अहिलेको स्थितिमा उनको व्यावसायिक लगानी १८ करोड बराबरको भएको तिमिल्सिनाले बताएको छ । जानकी एग्रोतिर सात करोड र फार्ममा ११ करोड रुपियाँको लगानी छ । तिमिल्सिना दम्पतीको मिहिनेतले अचेल पोखरामा उहाँको ब्रान्ड राम्रै ब्रान्ड बन्न सफल भएको छ । उनकी श्रीमती जानकी तिमिल्सिनाले भनिन्, पोखरामा टिकेर बसेका कारणले नै सबैले पत्याउने भएका छौँ, गाउँघरमा फल्ने अर्गानिक कृषि उत्पादन सहरमा माग भएकाले यस व्यवसायमा हामीलाई सफलता मिलेको हो ।

उनले आफ्नो अनुभव सुनाउँदै भने, गरिबले मात्रै कोदो, मकै खान्छन् भन्ने मान्यता थियो । कोदो, मकै गाउँमा खरिद गर्न जाँदा किसानले हामीले किनेर कता लिन्छन् होला भन्थे । गाउँघरमा हामीले कुरा गर्दा विश्वास पनि गर्दैनथ्ये तर अहिले तिनै उत्पादनलाई हामीले बजारमा बस्ने पढेलेखेका व्यक्तिको खाने आहार बनाउन सफल भयौँ । जानकी प्रोडक्टले गाउँबाट ल्याएको उत्पादनलाई सीधै बजारमा पठाउने नभई त्यसलाई प्रशोधित गरेर ब्रान्डका रूपमा बिक्री वितरण गरिने उनको भनाइ छ । उनले भने, सुरुवातीका दिनमा बोरामा २०० किलो ल्याएर प्याकिङ गर्न निकै गाह्रो हुन्थ्यो । अहिले गाडीका गाडी मालसामान आउने गरेका छन् । सबै प्याकिङ गरेर बिक्री गर्ने गरेका छौँ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot