Logo

विप्रेषणमा झिनो वृद्धि, मूल्य बढ्यो



काठमाडौँ, ५ फागुन । चालू आर्थिक वर्ष २०७६ र ७७ को छ महिनामा विप्रेषण आप्रवाहमा झिनो वृद्धि आएको छ । नेपाल राष्ट्र बैङ्कले चालू आवको अर्धवार्षिक आर्थिक विवरण सार्वजनिक गर्दै ०।९ प्रतिशतले वृद्धि भई ४४७ अर्ब २६ करोड रुपियाँ विप्रेषण पुगेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि अघिल्लो वर्षको १७.६ प्रतिशतको तुलनामा १.३ प्रतिशतले मात्र बढेको छ । वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढे पनि विप्रेषण आयमा भने झिनो मात्र वृद्धि भएको हो । समीक्षा अवधिमा अन्तिम श्रमस्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण०का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या १७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३७.३ प्रतिशतले घटेको थियो । पुनः श्रमस्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ०।५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ४.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा चालू खाता घाटा ८४ अर्ब ७१ करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५२ अर्ब १६ करोड रुपियाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ६ महिनासम्ममा एक अर्ब ३३ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा ७४ करोड ३९ लाख रहेको केन्द्रीय बैङ्कले जनाएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ६ महिनासम्ममा ५५ करोड ९५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको छ ।

मूल्य बढ्यो
समीक्षा अवधिमा बिन्दुगत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा यस्तो ४.५८ प्रतिशतको तुलनामा ६.८२ प्रतिशत रहेको छ । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति १०.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ । काठमाडौँ उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मुद्रास्फीति रहेको छ ।
(गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot