Logo

तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी सुरु



फागुन ५, काठमाण्डौ । २०७७ सालको बैशाख २३–२५ मा हुने २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी सुरु भएको छ । सोमबार सिंहदरबारमा सम्मेलन मूल आयोजक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइको अध्यक्षतामा पहिलो बैठक बसि सम्मेलन तयारीको काम शुरु गरिएको हो ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराइले नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने विभिन्न आयाममध्ये बुद्धको जन्मस्थल पनि एउटा भएको भन्दै यो सम्मेलनले नेपाललाई त्यहि उचाइबाट चिनाउन सफल हुने बताए । लुम्बिनी र बुद्धका बारेमा जति धरै चर्चा ग‍¥यो, नेपालको छवी त्यति नै माथि जाने उल्लेख गर्दै मन्त्री भट्टराइले यो बौद्ध सम्मेलनलाई भ्रमण वर्ष २०२० को अवसरसँग पनि जोडेर हेर्नुपर्ने बताए ।

सम्मेलनमा बुद्ध र बुद्धिज्मको अध्ययन तथा अनुसन्धानका लागि आउनेहरुबाट नेपाल भ्रमणको प्रचारमा पनि ठूलो टेवा पुग्ने उनको भनाई छ । सम्मेलन सम्पन्न गर्न सरकारले यसअघि नै आयोजक समितिको सदस्य सचिवमा पासाङ शेर्पालाई नियुक्त गरेको छ । मन्त्री अध्यक्ष रहने आयोजक मूल समितिमा ९५ जना सदस्य रहेका छन् । बैठकले सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न करिव २० वटा विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

नेपालले सन् २०१६ देखि दुई–दुई वर्षको अन्तरालमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्