Logo

स्ववियू निर्वाचन स्थगित् गरिएको भन्दै नेविसंघ आक्रोशित



काठमाडौं, ७ फागुन । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरिएकोमा कडा आपत्ति जनाएको छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिमा विषेश कारण देखाउदै अर्को निर्णय नभएसम्मका लागि स्ववियू निर्वाचन स्थगित गरेको थियो ।

नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले सरकार र त्रिभुवन विश्वविद्यालयले षड्यन्त्रपूर्ण तबरले स्ववियू निर्वाचन स्थगित गरेको गम्भिर आरोप लगाए । भट्टराईले विज्ञप्तीमार्फत त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सम्बन्धमा विद्यार्थी संगठनसंग कुनै छलफल नै नगरि स्ववियू निर्वाचन स्थागित गरेको बताएका छन् ।

उनले सरकार र त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका अस्तित्व समाप्त पार्ने अभियानमा लागेको आरोप लगाए । भट्टराईले विज्ञप्तीमा भनेका छन–‘नेपाली विद्यार्थी आन्दोलन एउटा ऐतिहाँसीक उपलब्धी स्वतन्त्र विद्यार्थी युनियनका स्थापनामा नेपाल विद्यार्थी संघका अग्रजहरुको रगत र पसिना जोडिएकाले नेपाल विद्यार्थी संघ स्वतन्त्र विद्यार्थी युनियनको अस्तित्व जोगाउनका लागि जस्तो सुकै मुल्य चुकाउन तयार छ ।’ महामन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएमा आफ्नो मनलाग्दी रोकिने डरले स्ववियूको अस्तित्वमाथि धावा बोल्ने प्रयासमा लागेको बताए ।

विज्ञप्तीमा थप भनिएको छ,‘विश्वविद्यालयको नेतृत्वलाई स्वतन्त्र विद्यार्थी युुनियनको निर्वाचन भए आफ्नो मनोपोली रोकिने डर र सरकारलाई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदा प्रजातान्त्रीक अभ्यास भएर प्रजातन्त्र र लोकतन्त्रको बलियो संस्था बन्ने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हठात रोक्न तयार भएका छन् । सरकार र त्रिभुवन विश्व विद्यालयको यो हर्कतका विरुद्धमा सम्पुर्ण लोकतन्त्रवादी विद्यार्थीहरुलाई गोलबन्द हुन समेत आग्रह गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्