बबिता बस्नेत: केही दिनअघि नेकपाकी सांसद माननीय यशोदा सुवेदीले स्वस्थानी र ऋषिपञ्चमी ब्रतकथाका पाना च्यात्नका लागि प्रतिनिधिसभामा सभामुखमार्फत ध्यानाकर्षण गराएपछि यसले एकप्रकारको तरङ्ग ल्यायो । महिला सांसदले संसदमा बोलेका कुरालाई खासै महत्व नदिने मिडियाले यो कुरालाई यति महत्व दिए कि उहाँका अभिव्यक्ति मिडिया र सोसियल मिडियाभरि यत्रतत्र सर्वत्र भए । उक्त अभिव्यक्तिमा उत्पन्न प्रतिक्रिया हेर्दा ‘हामी जे पनि बोल्न र लेख्न सक्छौँ’ भन्न मिल्ने प्रकारका छन् । उहाँको नाममा व्यक्तिगत गाली–गलौज, लाञ्छना, अपशब्द सबै नै प्रयोग भएका छन् । ‘कसैले बोलेको कुरा चित्त नबुझे तर्कले खण्डन गर्ने बानी हामीले कहिले बसाल्ने होला ?’ यो प्रश्न हामी सबैलाई हो जो सार्वजनिक अभिव्यक्तिमा रुचि राख्छौँ ।
यशोदा सुवेदी संसद्भित्र विभिन्न विधेयकहरूमा संशोधन राख्ने सक्रिय सांसदमध्ये पर्नुहुन्छ । लैङ्गिक सवालमा उहाँको गहिरो रुचि र सक्रियता छ । स्वस्थानी च्यात्ने अभिव्यक्तिले उहाँलाई चर्चित बनाए पनि भ्रष्टाचारको विरोधलगायत अहिलेसम्म उहाँका थुप्रै अभिव्यक्ति आएका छन् जो मुलुक र समाज रूपान्तरणका लागि महत्वपूर्ण छन् । क्रान्तकारी पृष्ठभूमिबाट आउनुभएकाले उहाँका अभिव्यक्ति धर्म, परम्पराका सवालमा यिनलाई मान्नुहुँदैन भन्ने हुन सक्छ । क्रान्तिकारीहरू पनि अहिले दुईथरी देखिन्छन्, एउटा हिजो जे भयो–भयो अब समाजमा जस्ता मानिस छन् सोहीअनुसार हुने भन्ने मान्यता राख्नेहरू भनौँ मनमा एउटा कुरा भए पनि व्यवहारचाहिँ अरूलाई देखाउनका लागि गर्ने, अर्को आफूले विगतमा जे–जस्ता मान्यता बोकेर अघि बढेको हो त्यसैलाई पछ्याउने, त्यही बोल्ने, त्यही गर्ने । जहाँसम्म यो पङ्तिकारले चिन्छु, सांसद यशोदा सुवेदी दोस्रो पङ्तिमा पर्नुहुन्छ । ढोंगी नहुनु, मनभित्र जे छ बाहिर त्यही भन्नु र गर्नु राम्रो कुरा हो, तर त्यसप्रकारका अभिव्यक्ति कहाँ दिने ? कस्तो जमातमा दिने ? किन दिने ? त्यसको प्रभाव र कार्यान्वयनको अवस्था के हुन्छ ? भन्ने कुराको ख्यालचाहिँ गर्नुपर्ने हुन्छ ।
स्वस्थानी र ऋषिपञ्चमीको कथा प्रसङ्गमा मन्तव्य दिनका लागि संसद् सही स्थान थिएन, होइन । धार्मिक ग्रन्थहरू आस्था राख्नेहरूका लागि हुन् । संसद् संविधान, नीति, कानूनको निर्माण र छलफल गर्ने थलो हो । संसद्बाट संविधान संशोधन हुन सक्छ, कानून संशोधन हुन सक्छ, तर धर्मग्रन्थ त मानिसका रोजाइ मात्र हुन् । संसद्सँग धर्मग्रन्थहरूको कुनै सम्बन्ध छैन, यी अहिले निर्माण गर्ने या संशोधन गर्ने विषय पनि होइनन् । कुन धर्मग्रन्थ पढ्ने, कुन नपढ्ने, के मान्ने, के नमान्ने मानिसका नितान्त व्यक्तिगत रोजाइ हुन् । हिन्दूधर्ममा क्रिश्चियन र मुस्लिममा जस्तो अध्ययनका लागि सीमित ग्रन्थहरू छैनन् । ३३ कोटी (प्रकारका) देवता भएजस्तै ग्रन्थहरू पनि धेरै छन्, यो बार यो पढ्नैपर्छ भन्ने पनि छैन । हिन्दूधर्मजस्तो जे गरे पनि हुने केही नगरे पनि हुने सहज र उदार धर्म अर्को छैन ।
वेद, उपनिषद्, रामायण, महाभारत, गीता, हाम्रा कतिपय चालचलन र परम्पराहरू धर्मग्रन्थमा उल्लेख प्रसङ्गहरूसँग जोडिएका छन् । हाम्रा पुर्खाका नामहरू प्रायः भगवान् ऋषिमुनीका नामबाट राखिएका छन् । हाम्रा अभिभावकहरूले हामीमध्ये धेरैका नाम भगवान्कै नामबाट राखेबाट उहाँहरू धर्म, धर्मग्रन्थ र ती धर्मग्रन्थमा उल्लेख भगवानका चरित्रबाट कति प्रभावित हुनुहुन्थ्यो भन्ने पुष्टि हुन्छ । धर्मग्रन्थमा उल्लेखित भगवान्को चरित्र र शीलस्वभाव मेरो सन्तानमा आओस् भनेर ती नामहरू राखिएका हुन् । त्यस्तै नाममध्येको एउटा नाम यशोदा पनि हो ।
यशोदा कृष्णकी आमाको नाम हो । आफूले नजन्माए पनि उनले भगवान् कृष्णलाई आफ्नो सन्तानलाई दिने ममता दिएर हुर्काएकी थिइन् । कृष्णले आफ्नी आमा देवकीलाई भन्दा यशोदाको बढी सम्झना गर्ने गरेका प्रसङ्गहरू महाभारतमा छन् । माननीय यशोदा सुवेदीले हिन्दूधर्मको आलोचना नै गर्नुभयो भने पनि उहाँ स्वयम्को भने धर्मग्रन्थमा उल्लेखित सुपात्रको नाम जिन्दगीभर कायम रहनेछ । यो कुरा धेरै नेताको जीवनमा लागू हुन्छ, भइरहेको छ । गृहमन्त्रीसमेत रहनुभएका रामबहादुर थापा बादल, हिन्दूबाट क्रिश्चियन बन्नुभएका कृष्णबहादुर महरा, पुष्पकमल, उहाँकी पत्नी सीता, माधव, वामदेव, ईश्वर, गोकुल, नारायणकाजी, गोकर्ण, अष्टलक्ष्मी, मोहनविक्रम, शंकर, विष्णु लेख्दै जाँदा फेहरिस्त लामो हुन सक्छ यी नामहरू माक्र्सवादअन्तर्गत नभएर सनातनी सभ्यताका पात्रहरूकै नाम हो ।
कुनै पनि धर्म मानिसको आस्था हो । धर्मग्रन्थ तत्कालीन समाजका ऐना हुन् । रामायणकालीन समाज कस्तो थियो भनेर बुझ्नका लागि रामायणले मद्दत गर्छ । महाभारतकालीन समाज बुझ्न महाभारतले मद्दत गर्छ । त्यहाँ उल्लेख सबै कुरा हामीले ग्रहण गर्नुपर्छ भन्ने छैन । चाहिने राम्रा कुरा लिएर नराम्रा कुरालाई त्यतिबेला यस्तो पनि रहेछ भनेर छोडिदिए हुन्छ । स्वस्थानी त्यस्तै एउटा ग्रन्थ हो जसले तत्कालीन समाजका मानिसहरूको सोच र त्यतिबेला भइरहेका क्रियाकलापको प्रतिनिधित्व गर्छ । स्वस्थानीले बालविवाहलाई प्रवर्द्धन गरेको होइन, त्यतिबेला कसरी बाल र अनमेल विवाह हुन्थ्यो भन्ने कुराको जानकारी मात्र दिएको हो ।
धेरै पछिसम्म अनमेल विवाह कायम थियो । यो पङ्तिकारकै एक हजुरबुबाले आफूभन्दा ४६ वर्ष कान्छी बालिकालाई (६० वर्षको उमेरमा १४ वर्षकी) काठमाडौंबाट विवाह गरेर खोटाङको छेतुवा लानुभएको थियो । काठमाडौंलाई त्यतिबेला नेपाल भन्ने चलन थियो । राजदरबारका कर्मचारी हजुरबुबाले काठमाडौंबाट विवाह गरेर लानुभएकाले उहाँलाई ‘नेपाल्नी’ भनिन्थ्यो । हामी नेपाल्नी हजुरमुमा भन्थ्यौँ । हजुबुबाको निधनको वर्षौंपछि चार वर्षअघि उहाँको देहावसान भयो । नेपाल्नी हजुरमुमालाई भेट्दा यो पङ्तिकारलाई स्वस्थानीकी गोमा ब्राह्मणीको छवि आउँथ्यो, जसले ७० वर्षका ब्राह्मणसँग विवाह गर्नुपऱ्यो । तत्कालीन समाजमा यस्ता घटना हुने गर्थे । अहिले बालिकाहरू बलात्कार भइरहेका छन्, हामी लेखिरहेका छौँ । सयौँ वर्षपछि यस्तो अवस्था नहुन सक्छ । त्यतिबेला अहिलेका कुरा अध्ययन गर्नेहरूले बालिका बलात्कार गर्ने यस्ता विभेदकारी आपराधिक सामग्री हामीलाई पढाउने ? भनेर ती सामग्री च्यात्न लाए भने त्यो गलत हुन्छ कि सही ? अहिलेको समाजको ‘रिफ्लेक्सन’ दिने घटनाहरू सयौँ वर्षपछिको पुस्तालाई ‘वाइयात’ लाग्न सक्छ ।
स्वस्थानी घरघरमा सबैभन्दा पढिने ग्रन्थ हो । ब्रत बस्ने महिला–पुरुष (कतिपय पुरुषले पनि यो ब्रत लिन्छन्) ले मात्र होइन ब्रत नबस्ने, ब्रतबारे वास्तै नगर्नेहरूले पनि घरमा स्वस्थानी सुन्ने गरेका छन् । स्वस्थानीमा राम्रा कुरा के छन्, नराम्रा के छन् भनेर मनन गरेर पढ्ने, सुन्नेहरूको सङ्ख्या त्यति ठूलो होला जस्तो लाग्दैन । ‘स्वस्थानी ब्रतकथा शुरु’ भनेर लेखिएको पात्रोअनुसार साँझ स्वस्थानी पढ्ने कुरा धेरैको घरमा ‘अनिवार्य गर्नुपर्ने कार्य’जस्तो हुने गरेको छ । कसैले अभिभावकको खुसीको लागि, कसैले वर्षौंदेखिको निरन्तरताका लागि, स्वस्थानी एउटा परम्पराजस्तो भइसक्यो । यसलाई च्यातेर साध्य हुने देखिँदैन । कसले च्यात्ने ? किन त्यात्ने ? अरूको धार्मिक आस्थामाथि धावा बोल्ने अधिकार संविधानले कुनै पनि नेपालीलाई दिएको छैन । कसका लागि च्यात्ने ? अहिलेको पुस्ताका लागि भनु भने उनीहरू के सही के गलत छुट्यान नसक्ने पनि छैनन् । यदि छुट्याउन सकेनन् भने हाम्रा धार्मिक ग्रन्थहरू होइनन् हाम्रो पाठ्यक्रम दोषी छ । धार्मिक ग्रन्थहरू स्कुल, कलेजमा पढाइँदैनन् । यस्ता कुरामा सांसदहरूले समय खर्च गर्नुहुँदैन । संसद् हिन्दूधर्मको मात्र होइन, कुनै पनि धर्मको प्रशंसा या आलोचना गर्ने ठाउँ होइन । यद्यपि प्रायः संसद्मा शपथग्रहण गर्दा भगवान् या धर्मशास्त्रलाई साक्षी राखेर गर्ने चलन छ ।
जहाँसम्म महिनावारी र धार्मिक आस्थाको कुरा छ, स्वस्थानी र ऋषिपञ्चमीमा मात्र होइन शिखधर्मबाहेक सबैले यसलाई अपवित्र मानेका छन् । मुस्लिमधर्ममा महिनावारी भएका बेला नमाज पढ्न पाइँदैन । यहुदीहरूले नछुने भएको समयलाई निधा भन्छन् । त्यस्तो बेलामा महिला–पुरुषले कुनै पनि सामान एक–अर्कालाई दिने–लिने गर्दैनन् । इसाईमा चर्चअनुसार फरक नियमहरू हुने गरेका छन् । बौद्धधर्ममा कतिपय गुम्बामा जान दिइँदैन, ध्यानका लागि भने कुनै बन्देज छैन । सबै धर्ममा रजस्वला भएका बेला यौन सम्बन्धलाई बर्जित गरिएको छ । आध्यात्मिक तवरबाट भने रजस्वलाका विषयमा कतै चर्चा पाइँदैन ।
महाभारतमा द्रौपदीको बस्त्र हरणअघि शयनकक्षमा लिन जाँदा उनले दुसासनलाई आफू रजस्वला भएकाले मान्यजनहरूका अगाडि जान नसक्ने बताएकी थिइन्, तर उनलाई छोडिएन । अन्धविश्वास, यसमा भइरहेका जोखिमपूर्ण अभ्यास र कानून निर्माण या कार्यान्वयनलाई जोडेर संसदमा बोल्दाचाहिँ अन्यथा लिनुहुँदैन । धार्मिक आस्थामा प्रहार नगरी छाउपडीको व्यवस्थापन गर्नु अहिलेको चुनौती पनि हो, जसका लागि कुल–देवतालाई छुट्टै घर बनाउने व्यवस्था गरे पुग्छ, स्वस्थानी च्यात्नुपर्दैन ।-घटना र विचारबाट