Logo

हेलिकप्टर उडानअघि सुरक्षा जाँच



काठमाडौँ, ८ फागुन । गोरखाका उत्तरी क्षेत्रमा हुने हेलिकप्टरको उडानमा प्रशासनले पुनस् कडाइ गरेको छ । उत्तरमा मनास्लु संरक्षण क्षेत्र र चीनको तिब्बती सीमा पर्छ । वन्यजन्तुको तस्करी र अवैध ओसारपसार नियन्त्रणका लागि जाँच गरेर मात्रै उडान–अवतरण गर्न दिइएको एसपी ओम अधिकारीले बताए ।

केही दिनअघि उत्तरी गोरखाबाट उडेको हेलिकप्टरलाई काठमाडौंमा जाँच गर्दा वन्यजन्तुको हाड फेला परेको थियो । उत्तरी गोरखामा विशेष गरी बिरामीको उद्घार, पर्यटक ल्याउन लैजाने तथा उपभोग्य सामग्री ढुवानीका लागि हेलिकप्टर चार्टरको अनुमति दिने गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताए । उडानका लागि गृह मन्त्रालयबाट सिफारिस लिएपछि त्यसको जानकारी जिल्ला प्रशासनमा आइपुग्छ । ‘प्रहरीको रोहवरमा मात्र हेलिकप्टर फर्कन्छ,’ उनले भने । पर्यटक आवागमनको याममा गोरखाका उत्तरी क्षेत्रमा हेलिकप्टरले मासिक सरदर ३० वटासम्म उडान गरिआएका छन् । ‘सम्भावित तस्करी र अवैध धन्दा रोक्न यस्तो गरिएको हो,’ एसपी अधिकारीले भने, ‘ल्यान्ड गर्ने ठाउँ जानकारी गराएपछि हाम्रो युनिट त्यहाँ पुगेर जाँचपछि मात्रै उड्न दिने गरिएको छ ।

डेढ वर्षअघि उत्तरी गोरखा जाने हेलिकप्टरलाई जाँदा र फर्कंदा दुईपटक अनिवार्य गोरखा सदरमुकाममा ल्यान्ड गरी सरकारी प्रतिनिधि साथै लैजान निर्देशन जारी भएको थियो । यसले उडान खर्च महँगो र झन्झटिलो भएको गुनासो हेलिकप्टर सेवा प्रदायक कम्पनीले गरेका थिए । त्यसयता खुकुलो गरिएको जाँच प्रक्रियामा पुन: कडाइ गरिएको हो । ‘अध्ययन गरेर नै हामीले निगरानी बढाएका हौं,’ एसपी अधिकारीले भने । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्