Logo

नेता देखि पूर्व राजासम्मको दक्षिण दौड



काठमाडौँ, ९ फागुन । यतिबेला कोरोना भाइरसले सँसारभर त्रास छाइरहेको छ । उत्तरी छिमेकी भाइरसका कारण यसैमा केन्द्रित छ । चीनसँग नेपालको आवागमन पनि ठप्पप्रायः छ । यही अवस्थाबीच नेपाली राजनीतिक दलका नेता देखि पूर्व राजासम्मको दक्षिणतिरको दौडले गति लिएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अघिल्लो महिना दिल्ली पुगेर फर्किए । उपचारको बहानामा गएका उनले राजनीतिक भेटघाट समेत गरे । नेपाली काँग्रेसभित्र आन्तरिक विवाद चर्किइरहँदा पौडेल दिल्ली पुगी भारतीय रक्षामन्त्री राजनाथ सिंहलगायतसँग महत्वपूर्ण भेटवार्ता गरी फर्किए । पौडेलले सिंहसँगको भेटको तस्बिर समेत सार्वजनिक गरे ।  अघिल्लो हप्तामात्र दिल्लीबाट राजपा नेताहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी फर्किए । उनीहरु एक साता दिल्ली बसाईंबाट फर्किएका हुन् । दिल्लीबाट फर्किएपछि महतोले राजपा तत्काल सरकारमा नजाने बताइसकेका छन् । यसअघि उनी सरकारमा जान खुट्टा उचालेर बसेका थिए । राजपाकै नेता राजकिशोर यादव लखनऊको विचारगोष्ठीमा भाग लिएर फर्किए । उनले त्यहाँ केही राजनीतिक भेटवार्ता समेत गरेका थिए ।

नेकपा नेताहरु भने पछिल्लो समय दिल्ली आवतजावत कम गर्न थालेका छन् । तर, उनीहरुले दूत पठाएर सक्रियता देखाउने गरेका छन् । दिल्लीतिर नेकपाका केही नेताका विश्वासपात्रहरुको आवतजावत पनि बाक्लिएको छ । उनीहरु सरकार सञ्चालनको सहयोग देखि सरकार ढाल्ने ऊर्जा लिन समेत ओहोरदोहोर गरिरहेको छ ।  यता नेपाली काँग्रेसका नेताहरु पनि दक्षिणतिर आउने जाने क्रम बढाउन थालेका छन् । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, दिपकुमार उपाध्यायलगायत लखनऊ पुगेर फर्किएका छन् । उनीहरुले लखनऊमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए । योगीसँगको भेटमा हिन्दु राष्ट्रबारे समेत कुराकानी भएको बुझिएको छ । यो भेटले नेपाली राजनीतिमा समेत चासो पाएको छ । नेपाली काँग्रेसको संस्थापन पक्ष कोइरालाको लखनऊ यात्राप्रति चनाखो भएको छ ।

आइतबारमात्र पूर्व राजा ज्ञानेन्द्र शाहको दिल्ली दौड चलेको छ । उनी दुई साता भारत बस्नेछन् । शाहले पत्नी कोमलको ७ फागुनको जन्मदिन अमृतसरमा मनाए । पूर्व राजा दार्जिलिङ र सिक्किम पुगेर फर्किएको केही दिनमै दिल्ली लागेका हुन् । उनले दिल्लीमा सत्तारुढ दल भाजपाका नेताहरुसँग भेट्ने निकटस्थले बताएका छन् । पछिल्लो समय नेता देखि पूर्व राजासम्मको दिल्ली दौडलाई अर्थपूर्ण मानिएको छ । देशमा राजनीतिक परिवर्तनका चर्चा परिचर्चा चलिरहँदा सत्तारुढबाहेकका शक्तिबाट भएको सक्रियता र दिल्ली दौडका कारण सरकारमा रहेकाहरु समेत झस्किएको बुझिएको छ । फाइल फोटो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot