Logo

बलात्कार आरोपी पूर्वडिएसपी फरार



काठमाडौं, १० फागुन । गत २२ माघमा पीडित युवतीले डिएसपी खिउजूविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिइन् ।

ललितपुर जिल्ला अदालतले पूर्वडिएसपी खिउजूलाई पक्राउ गर्न अनुमति पनि दियो । तर, उनी अहिलेसम्म फरार छन् । पीडित युवतीले भने प्रहरीले खिउजूलाई पक्राउ गर्न ढिलाइ गरेको दाबी गरेकी छिन् । पीडित युवती भन्छिन्, ‘जाहेरी हालेको दुई साता बितिसक्दा पनि उनी पक्राउ परेका छैनन् ।

बरु उल्टै आफ्नो बचाउ गर्दै विभिन्न अनलाइन न्युज पोर्टलमा अन्तर्वार्ता दिँदै हिँडेका छन् ।’ उनले काठमाडौंको एक अनलाइन च्यानलमा अन्तर्वार्ता दिएको भिडियो सार्वजनिक भएको छ ।

प्रहरी वृत्त चापागाउँका पूर्वडिएसपी खिउजूले ०७५ सालको विभिन्न समयमा युवतीलाई यौन दुव्र्यवहार गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमा खिउजू, उनकी पत्नी, छोरीसमेत मिलेर पीडितलाई धम्की र प्रलोभनमा पारेको भनिएको छ ।

प्रहरीले भने खिउजूको खोजीकार्य जारी रहेको बताएको छ । खिउजूलाई पक्राउ गर्न एउटा टिम बनाएर अगाडि बढेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

‘प्रहरीले एउटा टिम नै बनाएर खिउजूको खोजीकार्य जारी राखेको छ । उनलाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याएरै छाड्छौँ । पूर्वप्रहरी भएकाले अनुसन्धान प्रक्रिया उनलाई थाहा हुन सक्छ, त्यसैले समय लागेको हो,’ राईले भने  । दुई महिनाअघि नै पदबाट राजीनामा दिएर उनी फरार भएको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्