बलेवा, १० फागुन : रत्यौली गीत । झट्ट सुन्दा उत्ताउलो पनको गीतका रुपमा हाम्रो समाजले चीत्रण गरेको यो गीत पहिले पहिले जस्तो अहिले छैन् ।
वास्तविक शब्दमा विवाह पछिका क्रियाकलापको बारेमा चर्चा हुने यो गीत विशेष गरेर विवाहको दिन मात्रै गाउने चलन छ । पहिले पहिले विवाह रातमा हुन्थे । दुलाहा बेहुली लिन घर छोेडेपछि रत्यौली सुरु हुन्थे । पहिले रातको समयमा हुने विवाहका कारण रत्यौली पनि रातमै हुन्थ्यो । रातमा गाईंने गीत भएकाले नै रात छिपिँदै जाँदा गीतका शब्दले पनि आफ्नो सीमा नाघेका हुन्थे बुढापाका भन्छन ।
यो गीत महिलाको समूहमा मात्रै गाईंने भएकाले पनि केही फरक हुनुस्वभाविक मानिन्छ । रात र यौली जोडिएर रत्यौली बनेको हो । नेपाली साहित्यमा विद्यावारिधि गरेका डाक्टर कुशुमाकर न्यौपानेले केही वर्ष पहिला भनेको शब्दलाई सापटी लिने हो भने रातमा गरिने रमाइँलो रत्यौली हो । समयको परिवर्तनसँगै हाम्रा संस्कारमा पनि परिवर्तन भएका छन् । हिजो रातमा गाईंने रत्यौली गीत आज दिनौलीमा परिणत भएका छन् । अहिले रातमा हुने बिहे देख्नै गाह्रो छ ।
पहिले पहिले रत्यौली केटामान्छेले सुन्न र हेर्न हुँदैन भन्ने मान्यता थियो । रातमा गाईंने रत्यौलीमा यो मान्यता लागूभए पनि दिनमा गाइनेमा भने सीमा नाघेको छ । बिहेका दिन बेहुलाका घरमा मात्रै गाईंने रत्यौली पछिल्लो समय मेला महोत्सवहरुमा पनि देखिने गरेको छ । प्रतियोगीताका रुपमा यो गीतले पनि ठाउँ पाउन थालेको हो । पछिल्ला केही दिन
यता पर्वतको रेडियो दिदी बहिनीले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको महिला महोत्सवमा पनि थरिथरिका रत्यौली सुन्न पाइयो । “संस्कार र संस्कृति जोगाउनु हाम्रो दायित्व हो” रेडियोकी अध्यक्ष कल्पना चापागाईंले भने, “रत्यौली पनि सन्देशमूलक बन्न सक्छ भन्ने देखाउनकै लागि प्रतियोगिता आयोजना गरिएको हो ।” उनले भनेको जस्तै पछिल्लो समय मेला महोत्सवमा हुने रत्यौलीले दाईजो र कम उमेरमा हुने विवाहका कारण महिलाले भोग्नुपरेको समस्याका विषयलाई चित्रण गर्न थालेका छन् ।
म्याग्दीको धौलागिरी गाउँपालिका–५ ताकमको शुभसफल आमा समूहले प्रतियोगितामा गाउन तयार गरेका गीतका शब्दमा दाईजोको विरोध र बालविवाहको बहिस्कारका सन्देश समाबेश छन् । पर्वतको जलजला गाउँपालिकाका–५ को फुलवारी आमा समूहले तयार पारेको रत्यौलीमा पनि दाईजोभन्दा असल बुहारीको खोजी गर्न समाजलाई सन्देश पस्किएको छ । “हामी दुर्गम गाउँमा छौँ, चेतनाको पनि कमी छन्”, शुभसफल आमा समूह ताकमकी सदस्य सरस्वती पौडेलले भने, “रत्यौलीमार्फत दाईजोको विरोध र बालविवाह बहिस्कार गरौँ भन्दै हिँडेका छौँ ।” ठूलै पुरस्कार राशि राखेर आयोजना हुने प्रतियोगितामा सहभागी हुँदा उत्कृष्ट भएका समूहलाई राम्रै आम्दानी हुने र नभए पनि विकृति विरुद्धको सन्देश ठूलो समूहकाबीचमा प्रवाह गर्न पाइँने भएकाले सहभागी हुने गरेको उनले बताए ।
‘बिहेवारी बीस वर्ष पारी, ल्याउनु बाबु पढेकी बुहारी’ उनीहरुको गीतमा समावेश यो शब्दले नेपाल सरकारले ल्याएको विवाहसम्बन्धी कानून कार्यान्वयनमा समेत सघाउँछ । बीस वर्ष पहिलेको विवाहलाई नेपालको कानूनले गैह्र कानूनी भनेको छ । दाईजोका विरुद्धमा समेत कानून छ ।
कम उमेरको विवाह र दाईजोका कारण महिलानै पीडित हुने भएकाले कानून छ भन्ने जानकारी गराउनका लागि पनि रत्यौलीमा सन्देशमूलक शब्दको खोजी गरिएको उनले बताए । महिलाले रत्यौलीमा प्रयोग हुने शब्द र गीतले शिक्षाको पहुँच नपुगेका ठाउँसमेतमा सन्देश पु¥याउन सकिएको स्थानीयवासीको भनाइ छ ।रासस