Logo

प्रधानमन्त्रीप्रति आस्था गर्ने ठाउँ पाईएन ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : डा. लोहनी (भिडियोसहित)



राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै प्रशंसा पाएका मन्त्री गोकुल प्रसाद बाँस्कोटा (राजीनामा दिएका) को कमिशनको अडियो प्रकरण आएपछि यो सरकारको चरित्र के हो ? भन्ने कुरा प्रष्ट भएको टिप्पणी गरे । उनले भने,‘त्यत्रो समर्थन पाएका सञ्चारमन्त्रीबाट जुन किसिमबाट नेपाली जनताको स्रोत र साधनमाथिको खुलेआम लुट गर्ने प्रयास भयो, त्यो बाहिर आयो, त्यसले गर्दाखेरि बास्तवमा यो सरकारको चरित्र के हो ? यस्तो सरकारबाट के आशा गर्न सकिन्छ ? भन्ने प्रश्न नेपाली जनतामाझ चड्कारो रुपमा आएको छ ।’

उनले कमिशनको यो अडियो प्रकरणभन्दा अघि पनि यति काण्ड, सुन काण्ड, एनसेल काण्ड, न्यारोबडी काण्ड, वाईडबडी काण्ड भए, ती सबै काण्ड नेपालको प्रेस जगत (मिडिया) ले बाहिर निकालेको छ, तर, त्यसलाई एउटा लजिकल कन्क्लुजनमा लैजाने कुरामा यो सरकार तयार देखिएन् । संसदमा प्रतिपक्ष छ, तर प्रतिपक्ष पनि धेरै भलाद्यमी भएको छ । उहाँहरु चाहीँ जे आएपनि नमस्कार नै गरेर बस्ने स्थितिमा पुग्नुभएको छ ।’

उनले बाँस्कोटाको ७० करोड कमिशनको टेप प्रकरण सुन्दा अझै एक अर्ब बढाईदेउन भनेर सुनिएको पनि बताए । उनले भने,‘एक अर्ब भनेको त केही पनि होईन, नेपालीहरुको आर्थिक अवस्था कस्तो छ ? त्यसको कुनै मतलब छैन् । एक अर्ब बढाईदेउ अथवा अहिले हेर्दाखेरि त ३७, २८ अर्बको पनि कुरा आयो ।’ लोहनीले हिजो सामन्ती व्यवस्थामा जसरी शोषण गरिएको थियो अहिले प्रजातन्त्रको वैधानिकता लिएर शोषण गरिएको टिप्पणी गरे ।

उनले थपे,‘अहिले त नेपालमा नवसामन्तवादको नयाँ अध्याय नै सुरु भएको छ । यसमा प्रश्न के छ भने बाँस्कोटामात्रै हो कि या त्योभन्दा माथि पनि अरु कोही थिए ? किनभने एउटा खबर के आएको छ भने जसले यो कुरा पर्दाफास गरे, मिश्र भन्ने व्यक्तिले उनले यो टेप लगेर प्रधानमन्त्रीज्यूलाई नै दिएका थिए, त्यो पनि दुई महिना आगडि, त्यो टेप सुनिसकेपछि त्यही व्यक्तिलाई नेपालको सबभन्दा शसक्त राजनीतिज्ञ भनेर प्रशंसा गर्नु र अहिले यो भ्रष्टाचारको कुरा बाहिर आउनुबाट प्रधानमन्त्रीलाई यसमा कति थाहा थियो या थिएन ? भन्ने कुरा अब ठूलो प्रश्नको रुपमा आएको छ ।’

उनले यो प्रकरणमा अब हुने छानबिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोल्नुपर्ने माग गरे । उनले भने,‘उहाँले कति थाहा पाउनुभएको थियो ? रोक्नको लागि के गर्नुभयो ? के गर्नुभएन ? यो कुरा नेपाली जनताले थाहा पाउनुपर्छ । किनभने आफ्नो प्रधानमन्त्रीको नैतिकता र चरित्रको बारेमा जनता आश्वासन हुन चाहन्छन् । प्रधानमन्त्री भनेको त संस्था हो, त्यो संस्थामापनि तपाईले आस्था गर्न सक्नुभएन भने त्यो बेलामा देशमा अशान्ति र अराजकता बढेर जान्छ ।’

अध्यक्ष लोहनीले यो प्रकरणको निश्पक्ष छानबिन हुनुपर्ने बताउँदै संसदीय समितिबाट छानबिन हुनुपर्ने आफूहरुको सुझाव रहेको सुनाए । उनले भने,‘यस्ता छानबिन पहिले भएका पनि छन् । पहिले २०४९–५० सालमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो बेलामा हवाईजहाजसम्बन्धी धमिजा काण्ड आएको थियो, त्यसमा कानूनविपरित एक जना मान्छेलाई एजेन्सी दिईयो भनेर संसदले छानबिन गरेको थियो, म त्यसको अध्यक्ष थिएँ । उहाँ समितिमा आउनुभयो । हामीले पनि उहाँलाई यसमा तपाईको संलग्नता छ कि छैन् ? भनेर सोध्यौं । तपाईको संलग्नता छैन भन्ने कुरामा कसरी आश्वस्त हुने ? भनेर सोधेका थियौं । उहाँले आफ्नो कुरा राख्नुभएको थियो । हामीले सर्वसम्मती रुपमा यो केशमा भ्रष्टाचार नभएको भनेर भन्न मिल्दैन भनेर लेखेर पठायौं । जुन दिन संसदमा त्यो प्रतिवेदन पेश हुँदै थियो, त्यही दिन गिरिजाबाबुले राजीनामा दिनुभएको थियो ।’

यो प्रकरणमा संसदीय समितिले गठन गरेको छानबिनमा गएर आफ्नो कुरा राख्नुपर्ने उनको तर्क छ । उनले भने,‘उहाँले संसदीय समितिमा गएर यो प्रकरणमा कति थाहा थियो ? कति थिएन ? के थियो ? सबै कुरा भन्नुपर्छ । उहाँले यो प्रकरणमामात्रै होईन, यति प्रकरण, सुन काण्डदेखि लिएर अरु काण्डको बारेमा पनि उहाँले जवाफ दिनुपर्छ । सांसदहरुले प्रश्न गर्नुपर्छ । त्यो कुरा नेपाली जनताले थाहा पाउनुपर्छ ।’

उनले गोकुल बाँस्कोटालाई आफूले कुनै महत्वको मान्छे नै नभएको चित्रण गरे । उनले भने,‘यसको ईम्प्लिेकशनहरु आएका छन्, ती धेरै महत्वपूर्ण छ । यसलाई उपेक्षा गरेर बस्ने हो भने गणितीय रुपमा प्रधानमन्त्रीको बहुमत सरकारमा भएपनि नैतिक धरातलमा उहाँले प्रधानमन्त्री भएर बस्नु मिल्दैन् । यो कुरालाई प्रधानमन्त्रीले विचार गरेर त्यो प्रधानमन्त्री पदको गरिमा, र त्यो पदमा नेपाली जनताको आस्थालाई जोगाउने काम चाहीँ उहाँले गर्नुहोस भनेर म सुझाव दिन चाहन्छु ।’

लोहनीले वर्तमान सरकारले यो दुई वर्षमा ल्याएको बजेट नै असफल भएको दाबी गरे । उनले थपे,‘यो दुई वर्षमा हरेक पटक संसदमा बजेट पेश हुन्छ। त्यसको ६ महिनामा फेरि हामीले काम गर्न सकेनौं भनेर संशोधन हुन्छ । यसको विशेषता भनेको संसदमा ठूला ठूला कुरा गर्ने, बजेटका ठूला ठूला आकार राख्ने, अनि ६ महिनामा गएर हामीले त गर्न सकेनौं भन्ने अनि संशोधन गर्ने । बास्तवमा यो दुई वर्षमा बजेट फेल भएको छ ।’ सरकारले एक वर्षसम्मपनि भनेको कुरा पुर्याउन नसकेको उनको आरोप छ ।

उनले मुलुकमा रोजगारी र उत्पादकत्व नबढेको पनि गुनासो पोखे । ‘खर्च गर्ने क्षमता पनि बढेको छैन् । पहिलेको सरकारजस्तो यो सरकारमा त्यो रोग देखियो । स्थायी सरकार आएपछि एक दिनमा २७ अर्ब खर्च भएको देखियो । योजना कार्यान्वयन गर्ने क्षमतामा केही अभिवृद्धि भएको छैन् । वैदेशिक रोजगारीमा जानेलाई रोक्ने केही कार्यक्रम गर्न गरेको छैन् ।’–उनले भने । उनले हरेक तहमा अहिले भ्रष्टाचारको विकेन्द्रीकरण भएको पनि आरोप लगाए । उनले भने,‘कसैलाई पनि नियम, कानूनको मतलव छैन् । यो नेपालको प्रजातन्त्रको लागि घातक छ । यो कुरा नेपाली जनताले सहँदैनन् ।’

उनले नेपालको धर्म र संस्कृतिमाथिनै प्रहार भएको भन्दै चिन्ता व्यक्त गरे । नेपाल सरकारले यसप्रति वास्ता नगरेको पनि उनको आरोप छ । उनले भने,‘उल्टै यसमा प्रधानमन्त्रीले होली वाईन काण्डजस्तालाई प्रोत्साहन गर्नुभएको छ । यसमा नेपाल सरकारको ध्यान जाओस् । नेपालको पाँच हजार वर्ष पूरानो सभ्यतालाई उखाड्ने जुन प्रयास भएको छ, त्यो रोकिनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ ।’

उनले अमेरिकी सहयोग एमसीसीको सवालमा नेपालले ऋण, सहयोग वा अनुदान लिन सक्ने भएपनि शर्तहरु हेर्नुपर्ने सुझाव दिए । उनले भने,‘मुख्य कुरा हामीले हाम्रो राष्ट्रियता र स्वाभिमानमा के असर पर्छ ? भनेर हेर्नुपर्छ । एमसीसीको सवालमा अहिले व्यापक रुपमा छलफल हुनुपर्छ ।’ एमसीसीको सम्झौताका १४ बुँदाहरु अर्थमन्त्रालयबाट भएको र यो कुरा परराष्ट्र मन्त्रालयलाई थाहा नभएको भन्ने कुरा पनि बाहिर आएको सुनाउँदै यसलाई दुःखद अवस्था भनेर उनले चित्रण गरे । उनले भने,‘यदि सत्य कुरा हो भने ठूलो विकृति हो । जुनसुकै सम्झौताको बारेमा परराष्ट्र मन्त्रालयलाई थाहा हुनुपर्छ ।’

एमसीसी सम्झौताबारे राष्ट्रिय छलफल हुनुपर्ने उनको भनाई छ । उनले भने,‘राष्ट्रियस्तरमा छलफल हुनुपर्छ । यथास्थितिमा त नेपाल कम्युनिष्ट पार्टीभित्रै विवाद आईरहेको छ । यसबारेमा उठेका सवालमा सरकारले चित्त बुझाउनुपर्छ । तर, सरकारबाट त्यो प्रयास भएको छैन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot