Logo

राष्ट्रबैँकको गभर्नर बन्न चलखेल सुरु, कोको छन् लाइनमा ?



फागुन १०, काठमाण्डौ । आगामी चैत देखि राष्ट्र बैंकको गभर्नर पद रिक्त हुदै छ । डा. चिरञ्जीवी नेपाल सेवा निबृत्त हुँदैगर्दा नयाँ गभर्नर बन्नका लागि लिगलिगे दौड नै चलिरहेको छ । नयाँ गर्भनरका आकाक्षिहरु अहिले शक्तिकेन्द्र धाउने क्रममा समेत बृद्धि हुदै गएको छ ।

समग्र वित्तिय क्षेत्रको लेखाजोखा गर्ने केन्द्रिय बैंकको बहालवाला गर्भनर डाक्टर चिरञ्जीवि नेपालको आगामी चैत ५ गते कार्यकाल सकिदैछ । नेपाल राष्ट्र बैंकको गर्भनर बन्नाका लागि ६ जना भन्दा बढी कर्मचारी शक्ति केन्द्र धाउनेक्रममा बढी सकृय भएका छन् । राष्ट्र बैंककै अधिकारीहरु बाट २ जना, बाहिरबाट ४ जनाको नाम चर्चामा छ । बैंकभित्रबाट चिन्तामणि सिवाकोटी र कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको नाम चर्चामा रहेको छ ।

बाहिरबाट राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, लगानी बोर्डका मुख्य कार्यकारी अधिकृत रहेको महाप्रसाद अधिकारी र आर्थिक विद् सुवोधकुमार कर्ण पनि गर्भनरका लागि शक्तिकेन्द्रको चक्करमा लागेका छन । राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाशप्राप्त भास्करमणि ज्ञवाली पनि गभर्नरको दाबेदारका रूपमा अगाडी आएको चर्चा चलेको छ । नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले समेत आकांक्षा राखेको चर्चा छ । हालका डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि गर्भनरकालागि दौडधुप बढाएका छन् । मुख्यसचिव लोकदर्शन रेग्मी पनि गभर्नर बनका लागि प्रधानमन्त्री ओलीसँग लबिङ गरिरहेको बुझिएको छ ।

डा. मिनबहादुर श्रेष्ठपनि गभर्नरको दावेदारका रुपमा अगाडी आएका छन् । नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रधानमन्त्री हुदाँ योजना आयोगका उपाध्यक्ष रहेका श्रेष्ठ राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक समेत हुन । अर्थसचिव डा. राजन खनाल पनि गभर्नरको दौडमा रहेका छन् । राष्ट्र बैंकको गभर्नर अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्नुपर्छ । आकांक्षीहरूले सत्तारूढ दलका शीर्ष नेताको दैलो चहार्दै आएसंगै योग्यताले भन्दा पनि आर्शिबादले गर्भनर बन्नेहरुको भीड लागेको अनुमान गर्न गाह्रो छैन ।

वरीयतामा गभर्नर नेपाल सरकारको सचिवभन्दा माथि हुने व्यवस्था छ । राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै रहन्छ भने उक्त समितिको सदस्य अर्थमन्त्रालयका सचिव हुने व्यवस्था छ । विगतको नजिरले पनि सरकार परिवर्तन हुदा गभर्नर हटाउन अर्थमन्त्रीहरु हतारिँदैनन् । गभर्नर हटाउन लामो प्रक्रिया पुरा गर्नुपर्छ । सेवा निवृत्त हुनुअघि गभर्नर एक महिना विदा बस्ने प्रचलन छ । गभर्नर विदा बस्नु अघि सरकारले गभर्नर सिफारिश समिति बनाउने गरेको छ ।

गभर्नर नियुक्तिको प्रक्रिया लामो भएकोले अहिले देखिनै संभावितहरुको चर्चा चल्न थालेको हो । नयाँ गभर्नर बन्नकालागि अधिकाशं आकांक्षिहरु राजनीतिक रुपमा लबिङमा समेत लागेका छन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ४ गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई पदमुक्त हुनासाथ स्वत निलम्बन हुन सक्ने भन्ने कानुनी प्रावधान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot