काठमाडौं, ११ फागुन । सप्तरी छिन्नमस्ता गाउँपालिका–५ स्थित राजविराज–कुनौली सडकको भिरालोमा डोम बस्ती छ। ऐलानी जमिनमा ११ जना डोम परिवार बस्छन्। टोलको कुनामा जुक्तिदेव मरिकको घर छ। साढे तीन फिट लम्बाइ र त्यत्ति नै चौडाइको एककोठे घरमा हात टेकेर पस्नुपर्छ।
खुट्टा तन्काएर सुत्ने ठाउँ छैन। ६५ वर्षीय मरिक त्यही घरमा गुँडुल्किएर सुत्छन्। भुइँमा पराल ओछ्याइएको छ। उनी परालमाथि मैलो कम्बलमा सुत्छन् र त्यही ओढ्छन्। छाप्रोको ठाउँठाउँमा प्वाल छ। छानो कालो प्लास्टिकको छ। मरिकले दुई छोरी र तीन छोरा हुर्काए। छोरीहरू प्रमिला र सुशीलाको १६ वर्ष नपुग्दै विवाह भयो। छोरा ठूला हुँदै गएपछि छुट्टिए। उनको भागमा त्यही छाप्रो पर्यो। गरिबी र भूमिहीनताको संकट झेल्न नसकेर पत्नी दुई दशकअघि छाडेर हिँडेपछि मरिक एक्लिए। यी वृद्ध खाना पकाउन सक्दैनन्। दया गरेर कसैले ल्याइदियो भने छाक टर्छ। बाँसको छाप्रोमा चिसो भुइँमा सुत्ने यी एक्ला होइनन्। पूर्ववडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार टोलका सबैलाई चुलो बाल्न धौ–धौ छ। पुस्तांैदेखि ऐलानी जमिनमा बस्दै आएका डोम समुदायको घर भनेकै एककोठे छाप्रो हो।
रीता मरिकको परिवार हावापानी नछेकिने गरी बाँसको बत्ती र थोरै परालले छाएको झुप्रोमा पराल ओछ्याएर सुत्छ। कालो प्लास्टिकले छाएको फुसको छाप्रोमा पिंकीदेवी मरिकको परिवार पनि भुइँमै रात गुजार्छ। गोला मरिकको पाँचजनाको परिवारको बास त सुँगुरको खोरमाथि बनेको मचानमा छ। पराल र प्लास्टिकले छाएको फुसको छाप्रोमा हिउँदबर्खा कटाउँदै आएका उनीहरू वर्षामा चुहिने, गर्मीमा आगलागी हुने र हावाहुरीले उडाउने त्रासमा हुन्छन्। बस्ती हटाउन छेउका जग्गाधनीले छाप्रोनजिकै खाल्डो खनेका छन्। पानी जम्ने हुँदा दुर्गन्ध र लामखुट्टेको प्रकोप छ। (अन्नपूर्ण पोष्ट्बाट)