काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टीभित्र वामदेव गौतमले एकपछि अर्को बाजी मार्दै गएका छन् । वरियतामा पाचौं स्थानमा रहेपनि उनी शक्तिका हिसाबले तेस्रो स्थानमा छन् । वामदेवसँग स्थायी समिति, केन्द्रीय कमिटि मात्र नभई संसदीय दलमा समेत बलियो पकड छ । तर, उनी स्वयं सांसद छैनन् ।
वामदेव बर्दियाबाट चुनाव हारे । प्रधानमन्त्रीको दाबेदार देखिएपछि उनलाई पार्टीभित्रबाट अन्तरघात भएको विषय बाहिर आयो । गौतमलाई हराउन पार्टीका प्रभावशाली नेताहरु लागेको खुलेको थियो । तर, वामदेव नेकपाभित्र सुरथको एक्का बन्दै आएका छन् ।
जबसम्म वामदेवले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिए तबसम्म ओली अप्ठ्यारोमा परिरहे । तर, अन्तमा ओलीले गौतमलाई उपाध्यक्ष पद दिनेगरी आफू नजिक ल्याए । तैपनि उनले चित्त बुझाएनन् । आफू प्रधानमन्त्री बन्ने ढोका खोल्ने गरी राष्ट्रियसभा सदस्यले प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखिरहे । अहिले नेकपाले त्यसका लागि प्रक्रिया बढाइसकेको छ । समिति बनाएर काम थालेको छ । यो सबै वामदेवको अडानले भएको हो ।
अब वामदेव सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने एक राष्ट्रियसभा सदस्यको दाबेदार बनेका छन् । तर, त्यसअघि उनी संविधान संशोधनको शर्त राखिरहेका छन् । जुन सफल हुने मार्ग कोरिदै गएको छ ।
गौतमको एकपछि अर्को माग पूरा गर्नुपर्ने वाध्यता नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको छ । पार्टीभित्र उनी विस्तारै अल्पमतमा पर्दै गएका छन् । अब बहुमतमा रहिरहने हो भने गौतमको माग पूरा गर्नुपर्ने देखिन्छ । यसमा ओली सकारात्मक बनेका छन् ।
ओलीले केही समयभित्रै मृगौला प्रत्यारोपण गर्ने खुलाइसकेका छन् । त्यसअघि उनले पार्टीभित्र कसै न कसैलाई कार्यवाहक प्रधानमन्त्री दिन सक्छन् । वामदेवलाई उनले यसका लागि तयार रहन भनिसकेको बुझिएको छ । ओली कुनै पनि हालतमा पूर्व माओवादीलाई पार्टीको बागडोर दिइहाल्ने पक्षमा छैनन् । यसकारण पनि उनको रोजाईमा वामदेव परेको हुनसक्छन् ।
पछिल्लो समय प्रधानमन्त्रीबाट हटाउने रणनीतिले गति लिएको छ । ओली सरकार एकपछि अर्को विवादमा परेपछि उनका आन्तरिक प्रतिद्धन्द्धीले हटाउने उपयुक्त अवसर देख्न थालेका छन् । कुनैपनि बेला सत्ताबाट हट्नुपर्ने हुनसक्ने भएकाले पनि ओलीले वामदेवलाई पत्याएका हुनसक्छन् । ओली र वामदेवको निकटताका कारण राजनीतिक घटनाक्रम नयाँ ढंगले विकास हुनसक्ने देखिदै गएको छ ।
ओलीलाई ललिता निवास जग्गा प्रकरण देखि एमसीसीको मुद्दामा प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपालले साथ दिइरहेका छैनन् । नेपाललाई ललिता निवास प्रकरणमा दाग लाग्यो । तर, ओलीको कदममा वामदेव मौन छन् । यो मौनताको पछाडिको कारण घटनाक्रमले खुलाउँदै गएको छ । अब वामदेव प्रधानमन्त्री बन्ने बाटो खुल्ने सम्भावना बढेको छ । उनी प्रधानमन्त्री बन्न जति आतुर देखिन्छन् त्यति नै सम्भावनाको ढोका समेत खुल्दै गएको देखिन्छ ।