Logo

बास्कोटा प्रकरणमा ओलीलाई दबाब : अख्तियारमा मुद्वा दर्ता (भिडियोसहित)



फागुन ११, काठमाण्डौ । प्रधानमन्त्रीकै निजी निवासमा बस्दै आएका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भए सगैँ नेताहरुले अडियो प्रकरणबारे गम्भिर छानबिन हुनुपर्ने माग गरेका छन् ।

निवर्तमान सूचना मन्त्री गोकुल बाँस्कोटालाई अनुसन्धानको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता भएको छ । अभियानकर्मी प्रितम सुवेदी र विजयबाबु शिवाकोटीले आइतबार बिहान निवेदन दर्ता गराएका हुन् । यसअघि सत्तारुढ नेकपाले बास्कोटा प्रकरणमा छानविन गर्न सहयोग गर्ने निर्णय गरेको थियो । तर प्रधानमन्त्री केपी ओलीले बास्कोटा प्रकरणमा सरकारले छानविन गर्न नपर्ने भनेपछि आलोचना भइरहेको छ ।

प्रधानमन्त्री ओली पत्रकारले भाषा बिगारेको आरोप बारम्बार लगाउने गर्छन् । आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने ओलीको भनाई पनि चर्चित छ ।

तर प्रधानमन्त्रीकै निजी निवासमा बस्दै आएका बास्कोटाले मन्त्रालयका कर्मचारीलाई अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भयो । त्यसैले पनि बास्कोटासँगै ओलीप्रतिको विश्वास पनि कम हुन थालेको छ । बाँस्कोटाको कमिशनको अडियो प्रकरणबारे गम्भिर छानबिन हुनुपर्ने र यसको जिम्मा प्रधानमन्त्री ओलीले लिनुपर्ने नेकपा क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेल बताउँछन् ।

नेकपाको सरकार बने नै देखि भ्रष्टाचारका काण्डै काण्ड सार्वजनिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रसले पनि प्रभावकारी छानविनका लागि माग गरिरहेको छ । कांग्रेसले दबाबका लागि विरोध कार्यक्रम गर्ने सहमहामन्त्री डा. प्रकाशसरण महतले बताएका छन् । उनले यस विषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने बताए ।

तर यो मागप्रति भने ओली सहमत छ्रैनन् । भ्रस्टाचारसँग जोडिएको काण्ड भएकाले अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न सक्ने ओली पक्षधरको तर्क छ ।

प्र्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा नेकपाका केन्द्रिय सदस्य सूर्य थापाले बास्कोटाले गल्ती गरेको विषयमा ओलीलाई नजोड्न चेतावनी दिए । मौका पायो भन्दैमा प्रधानमन्त्री ओलीलाई धेरै खेदो नगर्नसमेत थापाले सुझाब दिएका छन् ।

ओलीले नै मृत्युदण्ड दिने त हैन होला नि । मौका पायो भन्दैमा खेदो खनेर हुन्छ ? थापाले भने ।

एकपछि अर्को भ्रष्टाचारका काण्ड बाहिर आइरहेका छन् । सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गत हुन गएका भ्रष्टाचारहरू पछिल्लोपटक पर्दाफास भयो । यस्ता कमिसनको खेल अरु धेरै भइरहेको अनुमान गर्न सकिन्छ । त्यसलाई गहिरोसँग अध्ययन गरेर दोषीलाई कारबाही गर्नु अहिलेको आवश्यकता हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot