Logo

ट्रम्प फकाउँदै भारत



काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि भारतमा ३५ घण्टा बिताउँदै छन्। नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस अमेरिकासँगको सम्बन्धको ‘खड्गो’का रूपमा छलफल भइरहेको छ। नेपालले अमेरिकासँग भारतभन्दा पहिला सम्बन्ध स्थापना गरे पनि राष्ट्रपतिस्तरबाट भ्रमण गराउन सकेको छैन।

दुई दशकयताका सबै अमेरिकी राष्ट्रपतिले भारत भ्रमण गरेका छन्। भारत आउन लागेका ट्रम्प सातौं अमेरिकी राष्ट्रपति हुन्। भारतलाई अमेरिकाले आन्तरिक विषयमा कुरा नउठाओस् भन्ने लागेको छ। अमेरिका भने यो ‘लक्ष्मण रेखा’मा सीमित रहने अवस्था छैन। ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा ट्रम्पले लोकतान्त्रिक परम्परालाई समर्थन गर्न भारतले धार्मिक अल्पसंख्यकको सम्मानतर्फ ध्यान केन्द्रित गरिरहेको छ त भन्ने तथ्यलाई विश्वले नियालिरहेको विषयमा ध्यानाकर्षण गर्ने छन्’, ह्वाइट हाउसका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा भने, ‘भारतको संविधानमा पनि धार्मिक स्वतन्त्रता, धार्मिक अल्पसंख्यकको सम्मान र सबै धर्मका लागि समानताको अधिकार छ।’

योसँगै अमेरिकाले भारतलाई यो क्षेत्रको मुख्य खेलाडीका रूपमा प्रस्तुत गरिरहेको छ। यो अमेरिकाका लागि आवश्यक रहेको पूर्वराजदूत डा। दिनेश भट्टराईले बताए। ‘भारत–अमेरिका सम्बन्धका आधारमा यो क्षेत्रको सम्बन्ध र राजनीति तय हुनेछ’, उनले भने। नेपाल र अमेरिकाको सात दशक लामो सम्बन्धमा नेपाल आउने एक मात्र उच्चस्तरीय नेता उपराष्ट्रपति स्पिरो एगन्यु मात्रै हुन्। भारतसँग अमेरिकाको सम्बन्धमा निखारता आइरहँदा नेपालले पनि उच्चस्तरीय भ्रमणमार्फत सम्बन्धलाई बढोत्तरी गर्नुपर्नेमा जोड दिनु आवश्यक छ। भट्टराईका अनुसार दिल्लीलाई बेइजिङतर्फ चनाखो राख्न पनि वासिङटनले सहकार्य अघि बढाउनेछ। इन्डो प्यासिफिकको विषय त्यति धेरै नउठे पनि त्यो पाटोमा अमेरिका चनाखो रहने उनले बताए। ट्रम्पको यो भ्रमण द्विपक्षीय आन्तरिक मामिलामा बढी केन्द्रित हुने भए पनि यसमा एउटा मुख्य पाटोका रूपमा रहेको आईपीएसमा बहस हुन्छ। भारत र अमेरिका दुवैका लागि यो महत्वपूर्ण मानिएको छ। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot