Logo

गौतमका लागि संविधान संशोधन?



काठमाडौं, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन बाटो खुल्नेगरी संविधान संशोधनको विषय चर्चामा आएको छ। राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिले मनोनित गर्न बाँकी एक स्थानमा गौतमलाई ल्याउन नेताहरू सकारात्मक देखिएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने विषय उठेको थियो। राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बन्न संविधानले छेकेपछि त्यसका लागि गौतमले अनिच्छा व्यक्त गर्दै आएका छन्। प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन भए राष्ट्रिय सभा सदस्य स्वीकार गर्ने कुरा उठाएउँदै आएपछि त्यससँगै बैठकमा संविधान संशोधनको विषयले पनि चर्चा पाएको एक एक नेताले जनाए।

त्यसको विषयमा अध्ययन र प्रस्तावका लागि कार्यदल गठन गर्ने विषय चर्चामा आएपनि कार्यदल नै गठन भइनसकेको एक सदस्यको बताए। ‘संविधान संशोधनको विषय बैठकमा चर्चा चलेको हो तर संशोधनका लागि कार्यदल नै बनेको भने सत्य होइन,’ सचिवालयका एक सदस्यले भने, ‘छलफल मात्रै भएको थियो कार्यदल नै बन्यो भनेर चर्चा भएछ जुन सत्य होइन।’

बैठकमा पार्टी नेता माधवकुमार नेपाल, सुवाचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको समिति गठनको विषय चर्चा मात्र चलेको ती सदस्यले दाबी गरे। पार्टी उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभाको सदस्य बन्नका लागि संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खोल्नुपर्ने सर्त राख्दै आएका थिए।

सो शर्तको बारेमा शनिबारको सचिवालय बैठकमा पनि छलफल भएको थियो। बैठकमा उपाध्यक्ष गौतमले राष्ट्रिय सभामा जाने नजाने विषयमा कुनै निर्णय दिएका छैनन। उनले निर्णय नदिएका कारण बैठकले राष्ट्रिय सभामा पठाउने नपठाउने विषयमा कुनै निर्णय गरेको छैन।

नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot