काठमाडौँ, १३ फागुन । लहरे वनमारा झारले चितवन निकुञ्जका घाँसे मैदान ढाकिए । ‘माइकेनिया म्याकारान्था’ नामको वनमारा यति फैलियो कि निकुञ्जसँगै संरक्षणकर्मी र सम्बद्ध निकाय नै चकित भए । २०६६ मा तत्कालीन वनमन्त्री दीपक बोहराले त्यो झार फाल्ने अभियानको आरम्भ प्रधानमन्त्री माधव नेपालबाटै गराए ।
छिटो बढ्ने र धेरै फैलिने भएकाले वनस्पतिविद्ले ‘माइल अ मिनट’ पनि भन्ने यो झार निर्मूल पार्ने अभियानका बेला हँसियाले काटेर लहरा फालिए । बटुलेर बालिए । तर निमिट्यान्न भएन । मुलुकको पूर्वी क्षेत्रबाट भित्रिएको यो वनस्पति झन् फैलँदै अहिले दाङसम्मै पुगेको छ । छोटो समयमै धेरै क्षेत्रसम्म फैलिएर पोसिलो घाँस र बासस्थान ढाकिदिने भएकाले यसको प्रत्यक्ष असर एकसिंगे गैंडा, मृग, हात्तीजस्ता घाँसमा निर्भर हुने वन्यजन्तुमाथि परेको छ । नियन्त्रण गर्ने उपाय नहुँदा माइकेनियाजस्तै तीतेपाती (पार्थेनियम), कालो र सेतो वनमारा, जलकुम्भी, वनफाँडा र गन्धे झारलगायत मिचाहा अरू थुप्रै प्रजाति तराईदेखि हिमाली क्षेत्रसम्मै फैलिएको छ । बाहिरबाट भित्रिएका त्यस्ता प्रजाति तीव्र गतिमा फैलने, रैथाने प्रजातिलाई विस्थापन गरिदिने र ‘पारिस्थितिकीय चक्र’ को सन्तुलन बिगारिदिन्छन् । नेपालमा यस्ता २६ वटा मिचाहा वनस्पतिको प्रजाति पहिचान गरिएको छ ।
देशभरि मिचाहा झार फैलिरहेका बेला एक अध्ययनले ‘म्याक्सिकन खपटे किरा’ ले त्यसको रोकथाम र नियन्त्रण गर्न सहयोग गर्ने गरेको निष्कर्ष निकालेको छ । मिचाहा प्रजातिको अत्यधिक जोखिम राष्ट्रमा नेपाल तेस्रो स्थानमा पर्छ । विश्वभर मिचाहाको जोखिम बेहोर्दै गरेका मुलुक १ सय २४ छन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक दयाराम भुसाल र भारतको बनारस हिन्दु विश्वविद्यालयका भूपेन्द्र कुमारको अध्ययनले म्याक्सिकन खपटे किराले तीतेपाती झार (पार्थेनियम) लगायतका मिचाहा प्रजातिका झारलाई आहाराका रूपमा रुचाउने गरेको निचोड निकालेको हो । ‘उच्च तापक्रम (३४–३६ डिग्री सेल्सियस) भएको क्षेत्रका म्याक्सिकन खपटे किरा खन्चुवा हुने गरेको देखिन्छ,’ बेलायतमा हालै प्रकाशित अध्ययनको जर्नलमा भनिएको छ, ‘नेपालमा पनि ती खपटे किरालाई मिचाहा झार नियन्त्रणका निम्ति प्रयोग गर्न सके समस्या समाधानमा सहयोग पुग्छ ।’ ‘पहाडमा पाइने ठूलो आकारका खपटे किराहरूले भन्दा तराई अर्थात् गर्मी ठाउँमा पाइने खपटे किराले मिचाहा झार बढी र छिटो खाएको पाइएको छ,’ अनुसन्धानको नेतृत्व गरेका भुसालले कान्तिपुरसित भने ।
‘समस्या पनि तराई र गर्मी क्षेत्रमै देखिएकाले नियन्त्रणका लागि खपटे किरा उपयोगी बन्न सक्छन्,’ उनले भने । किरा प्रजातिबारे विद्यावारिधि गरेका भुसाल भन्छन्, ‘धेरै संख्यामा खपटे किरा उत्पादन गरेर मिचाहा झार भएको क्षेत्रमा छोड्न सकियो भने नियन्त्रण गर्न सकिन्छ ।’ उनका अनुसार विकसित देशहरूमा व्यापक उत्पादन विधि ९मास रियरिङ टेक्नोलोजी० प्रयोग गरी यस्ता उपयोगी खपटे किराहरूलाई मिचाहा झारको नियन्त्रणका निम्ति प्रयोग गर्ने गरेको पाइन्छ । (कान्तिपुर दैनिकबाट)