काठमाडौं, १३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गजेन्द्र बहादुर महतले अहिले मुलुकमा भ्रष्टाचारको फलाम तातेको भन्दै सबै दलले मिलेर हिर्काउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद महतले भ्रष्टाचार बढेको भन्दै नियन्त्रण गर्न जरुरी रहेको सुनाए ।
उनले भने,‘भ्रष्टाचार बढेको छ, अहिले फलाम तातेको छ । सबै मिलेर हिर्काउँ । मलाई प्रतिपक्षी दलका केही साथीहरुले भनेका छन् हाम्रा नेताहरु पनि कहाँ गतिला छन् र ? भनेर भन्नुभएको छ । यही बेला हो, सबैले मिलेर यसलाई हिर्काउँ ।’
उनले बाठो मन्त्रीले कमिशनमा आफैं डिल गर्ने गरेको र लाटो मन्त्रीले मात्रै कर्मचारीमार्फत डिल गर्ने गर्दा रहेछन् भन्ने तर्क गरे । उनले अहिले संविधान संशोधनको कुरा पनि चलिरहेको सुनाउँदै त्यतातिर भन्दापनि भ्रष्टाचार नियन्त्रणतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने,‘अहिले संविधान संशोधनको स पनि उच्चारण गर्नुहुँदैन् ।’