Logo

प्रधानमन्त्री समाजवादी होईन यतीवादी देखिए : थापा



काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पहिले पहिले माक्र्सवादी देखिने प्रधानमन्त्री केपी शर्मा ओली आजभोलि यतीवादी देखिएको गम्भिर आरोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले यस्तो गम्भिर आरोप लगाएका हुन् । उनले भने, ‘पहिले पहिले माक्सवादी, बीचमा समाजवादी आजभोलि यताबाट उताबाट हेरे पनि यतीवादी देखिनु भएको छ।’

थापाले गोकुल प्रसाद बाँस्कोटाको ७० करोडको कमिशनको अडियो प्रकरणबारे प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरे । उनले सञ्चारमन्त्रीको विषयमा प्रधानमन्त्रीलाई थाहा नभए के थाहा छ भन्दै कडा प्रश्न गरे। उनले भने,‘प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नु भएको थियो। बालुवाटारमा ऐना छ कि छैन?’

उनले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रकै राष्ट्रवादीले तह लगाइदिएको पनि टिप्पणी गरेका छन्। उनले भने,‘एमसिसीमा नेकपाभित्रकै खाँटी राष्ट्रबादीले तपाईंलाई तह लगाइदिएका छन्। एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्ने कार्यदल बनाउने कुरामा तपाईं जसरी कमजोर देखिनुभयो, यो देखेपछि तपाईंलाई बाहिर के भन्दैछन् थाहा छरु देखिँदाखेरि सुरो यथार्थमा विचरो भन्दैछन् ।’

सांसद थापाले प्रधानमन्त्री अ‍ोलीले राजसी ठाँटका साथ जन्मदिन मनाएको गुनासो पोखे । उनले भने,‘उहाँले जन्मदिन पनि राजसी ढाँटमा मनाउनुभयो, पूर्वराजा ज्ञानेन्द्र शाहको झल्को मेटाइदिनुभयो, तपाईले राजसी ठाँटका साथ मनाएको जन्मदिनबारे नागरिक के भन्दैछन् थाहा छ प्रधानमन्त्रीज्यू ?, २०६१ सालमा ज्ञानेन्द्र शाहले देखाएकै जस्तो झल्को मेटाइदिनुभयो भन्दैछन्।’ भ्रष्टाचारलगायतका एकपछि अर्को काण्डबारे प्रधानमन्त्रीले थाह नपाएजस्तो गर्नु पाप हुने थापाको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्