Logo

बामदेवलाई रोक्न खोज्दा ओलीको सत्तामा कम्पन



काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टीभित्र उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने कि नगर्ने विषयले नयाँ विवाद ल्याएको छ । नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्ने रणनीति बनाएपछि विवाद चर्केको हो ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने पक्षमा सचिवालयका अधिकांश सदस्य रहेपछि ओलीले मंगलबार राति वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर लामो छलफल गरेका थिए । नेपाल पनि गौतमको पक्षमा उभिए । जसका कारण ओलीको केही लागेन । सचिवालयले गौतमको पक्षमा निर्णय गर्यो ।

सचिवालय निर्णयपछि गौतम आजै बर्दिया लागेका थिए । तर, दिनभर नयाँ घटनाक्रम विकास भयो । गौतमलाई रोक्ने पक्षमा ओली देखिए । सचिवालयमा ओली र ईश्वर पोखरेलबाहेक सबै गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने पक्षमा उभिएको सचिवालयका एक सदस्यले रिपोर्टर्स नेपाललाई बताए । ओलीले पार्टीको निर्णय विपरित गएमा गम्भीर विवाद आउने अवस्था बनिसकेको छ । बहुमत सचिवालय सदस्यहरु गौतमको पक्षमा देखिइसकेका छन् ।

ओलीले गौतमलाई रोक्न खोजेबाट नेकपाभित्र नयाँ राजनीतिक विवाद देखिनथालेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली एक्लिदै गएको बुझिएको छ । उनलाई अहिले ईश्वर पोखरेलको मात्र दरिलो साथ छ । विष्णु पौडेल मध्यमार्गी बाटो लिइरहेका छन् । बाँकी सचिवालयमा रहेकाहरु उनको विपक्षमा देखिएका छन् ।

नेकपाभित्र विकसित घटनाक्रमले ओली सरकार नै डगमगाउन थालेको छ । कहिले एमसीसी विवाद त कहिले कस्लाई कुन पदमा ल्याउने भन्ने विवादले संकट बढाउँदै लगेको छ । प्रदेश सरकार संचालनमा ओलीले एकलौटी गरेको भन्दै वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल निकै रुष्ट छन् । पछिल्लो पटक विकास भएको वामदेव गौतमलाई राष्ट्रियसभामा लाने विषय र संविधान संशोधनको विषयले अर्को चुनौती थपेको छ । यो अस्त्रको सामना गर्न ओलीलाई हम्मे पर्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्