Logo

नेपाल प्रहरीमा धेरै दरबन्दी खाली



काठमाडौँ, १५ फागुन : नेपाल प्रहरीको उच्चदेखि तल्लो तहसम्म ठूलो सङ्ख्यामा दरबन्दी खाली हुन पुगेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा मात्रै २२ खाली भएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उच्च पदसहित प्रहरीमा १४ प्रतिशत दरबन्दी खाली रहेको जानकारी दिए । तल्लोदेखि उच्च पदसम्म दरबन्दी खाली हुँदा कतिपय निर्णय प्रक्रिया र अमनचयन गर्ने कार्यमा असर पुगेको बताइएको छ । मौजुदा प्रहरी कर्मचारी र अधिकृतले नै बाँकी जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता छ ।

उनले भने, “प्रहरी प्रधान कार्यालयले आवश्यक प्रशासनिक काम गरिरहेको छ, नियमित पुलिसिङलाई असर नपरे पनि कानूनले तोकेको र निर्णय लिनुपर्दा सम्बन्धित पद नै हुनुपर्ने भनी उल्लेख भएको ठाउँमा भने अलिकति अप्ठेरो भएको छ ।” त्यसैले अहिले प्रधान कार्यालयले पदपूर्तिका लागि आवश्यक प्रक्रिया शुरु गरेको उनले बताए ।

प्रहरीमा महत्वपूर्ण मानिने कार्य तथा अपराध अनुसन्धान विभाग, प्रशासन तथा मानव स्रोत विभाग र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआइजी प्रमुख हुने प्रावधान छ । महत्वपूर्ण विभागसहितका प्रदेश प्रहरी कार्यालयसमेत निमित्तको भरमा छ । माथिल्लो प्रहरी अधिकृतमा पद रिक्त भएको आज १६ दिन पुगेको छ । धेरैजसो विभागको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० बाट भइरहेको छ ।

प्रहरीको अभिलेखअनुसार नेपाल प्रहरीमा कूल ६९ हजार ५२३ दरबन्दी छ । ती मध्ये ११ हजार २५१ पद खाली छ । हाल एआइजीमा तीन र डिआइजीमा १९ दरबन्दी खाली छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा जनपदतर्फ नौ र प्राविधिकतर्फ सात गरी १६, प्रहरी उपरीक्षक (एसपी) मा जनपदतर्फ छ र प्राविधिकतर्फ ११ गरी १७ तथा प्रहरी नायब उपरीक्षक (डिएसपी)मा जनपदतर्फ ३२ र प्राविधिकतर्फ २० गरी ५५ दरबन्दी खाली छ । दुवैतर्फ प्रहरी निरीक्षकमा २१९, प्रहरी नायब निरीक्षकमा ४१७, प्रहरी सहायक निरीक्षकमा एक हजार आठ, प्रहरी हवल्दारमा एक हजार २२२ र प्रहरी जवानमा सात हजार ७७२ दरबन्दी रिक्त छ ।रासस



प्रतिक्रिया दिनुहोस्