Logo

नेकपा नेताहरुबीच एक-अर्कालाई सिध्याउन भण्डाफोर



काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेताहरु एकपछि अर्को विवादमा मुछिएका छन् । उनीहरुले विगतमा गरेका निर्णय र चालेका कदमहरुको सप्रमाण विवरण धमाधम बाहिर आउन थालेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको भूमिकाबारे सूचना बाहिर आयो । नेपाल प्रधानमन्त्री हुँदा क्याबिनेटमा लगेर निर्णय गराइएको विवादास्पद विषय बाहिर ल्याइयो । यसले नेपाल निकै तनावमा परे । ललिता निवास प्रकरणमा विष्णु पौडेल समेत मुछिए । नेकपा महासचिव पौडेलको छवि धुमिल पार्ने गरी घटना बाहिर आयो ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गर्नु अघि नेपाल ट्रष्टको जग्गा लिज प्रकरण बाहिर आयो । जसमा यती ग्रुप मुछियो । प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका विवादमा पर्यो । यो प्रकरणमा ओलीको संलग्नता बाहिर आइरहँदा देशलाई अरबौंको घाटा पुर्याइएको विषय बाहिर आयो । लगत्तै सरकारले श्वेत पत्र जारी गरी यतीलाई जग्गा लिजमा दिने निर्णयमा तत्कालिन गृहमन्त्री जर्नादन शर्मा समेत संलग्न भएको विषय खुलाइयो । शर्माले यसपछि आफूलाई सिध्याउन खोजेको भन्दै सरकारलाई नै चुनौती दिए ।

नेपाल ट्रष्टको जग्गा लिज प्रक्रिया बढ्दा शेरबहादुर देउवा प्रधानमन्त्री र जर्नादन शर्मा गृहमन्त्री रहेको ट्रष्टले मंगलबार जारी गरेको श्वेतपत्रमा उल्लेख छ । यसमा तत्कालिन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई पनि मुछिएको छ ।

नेकपाका नेताहरुबीच एकले अर्कोलाई सिध्याउने गरी विगतमा भएका गल्ती खुलाउने प्रतिष्पर्धा नै चलेको छ । यसले नेकपा नेताहरुको पालामा धेरै अनियमितता भएको आशंकाहरु उत्पन्न भएको छ । गोकुल प्रकरणमा यती ग्रुपको मात्र नभई प्रधानमन्त्री ओलीको भूमिका समेत विवादमा परेको छ । यसले लहरो तान्दा पहरो खस्न थालेको छ । नेताहरुले एकले अर्काको भण्डाफोर अभियान नै चलाइरहँदा जनतामाझ भ्रमका धेरै पर्दा उघारिएका छन् । इतिहासकै ठूलो भ्रष्टाचार काण्डहरु बाहिर आइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot