काठमाडौ, फागुन १५ । मन्दिरको खुड्किला निर्माणमा अनियमितता गर्ने व्यक्ति अख्तियारको फन्दामा परेका छन् । साकेत धाम विष्णु मन्दिर उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टले आर्थिक अनियमितता गरेको सम्बन्धमा अख्तियारले आरोपपत्र दायर गरेको हो ।
विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । कन्चनपुर भीमदत्त नगरपालिका स्थित विष्णु धाम मन्दिरमा खुडकिला निर्माणको लागि पेश्की लिई हालसम्म फछर्यौट नगरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा भीमदत्त नगरपालिका साकेत धाम विष्णु मन्दिर उपभोक्ता समितिका अध्यक्षले नगरपालिकाबाट लिएको ४ लाख पचास हजार रुपैयाँ हालसम्म निर्माण कार्य नगरेको र उक्त रकम फरफारक समेत नगरेकोले, सजाय हुन र बिगो रकमसमेत निजबाट असुलउपर गरी जफत हुन मागदाबी लिई बिहिबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।