काठमाडौं, १५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र भैरहेका पछिल्लो विवादलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । उनले पार्टीलाई कुनैपनि हालतमा फुट्न नदिने विश्वास दिलाएका छन् ।
आज (बिहीबार) नेकपाको बाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘ढुक्क हुनुहोस, हामी पार्टी विभाजन हुन दिँदैनौं ।’ उनले केही विवादहरु देखिएपनि पार्टीलाई विघटन र विभाजन हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने,‘पार्टी भनेको जमेको पोखरी जस्तो निलो भएर बस्ने, किटाणुहरु लाग्ने जस्तो होइन । पार्टी गडगडाएर अघि बढ्ने हो त्यहाँ विवाद बहस हुन्छ, आजभोलि के हो भन्ने तपाईलाई परेको छ । हामी धेरै दुःख र मूल्य चुकाएर देशमा कम्युनिस्ट पार्टीमा यो स्थानमा ल्याएका हौं । यसमा धेरैको रगत पसिना करोडौं जनताको आशा छ । यो पार्टीलाई कुनै पनि विघटन र विभाजन हुन दिइने छैन ।’
अध्यक्ष दाहालले एमसीसी अमेरिकी ‘सुपर पावर’ लाई संसारमा कायमै राख्ने सैन्य रणनीतिका रूपमा आएकाले यसलाई जस्ताको जस्तै अनुमोदन नगरिएको स्पष्ट पारे । उनले दक्षिण एसियाली मुलुकमा आफ्नो प्रभुत्व कायम राख्ने अमेरिकी चाहनाअनुसार अमेरिकाले एमसीसी ल्याएको दाबी गरे ।
उनले थपे,‘त्यसैले मुलुकको हित अनुकूल छ छैन भनेर हामीले निक्र्योल गर्यौं। मुलुकको हित अनुकूल हुने गरी संशोधन गर्न कार्यदल गठन गरेका छौ । अब हितमा हुने गरी अगाडि बढाइनेछ।’ दाहालले भारतसँगको सीमा विवाद संवादबाट समाधान हुने बताए।