Logo

सगरमाथाको उचाई नाप्ने काम ९० प्रतिशत सम्पन्न



फागुन १६, काठमाण्डौ । सरकार गठनको दुई वर्ष पूरा भएसँगै मन्त्रालयहरुले कार्यविवरण प्रस्तुत गरिरहेका छन् । समग्रमा सरकार नै असफल भएको अर्थात प्रभावकारी काम गर्न नसकेको आरोप लागे पनि विभागिय मन्त्रीहरुले भने सफल भएको दावी गर्दै विवरणहरु पेश गर्ने गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि सफलताको सिढि उक्लिरहेको दावी गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आफूले मन्त्रालय सम्हालेपछि मालपोत कार्यालय व्यवस्थीत हुँदै गएको दावी गरेकी छिन् । शुक्रबार सिंहदरबारमा मन्त्रालय सम्हालेको २ वर्ष पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री अर्यालययले सेवाग्राहीले काम छिटो गराउनका लागि घुस दिने गरेका कारण मालपोत कार्यालयमा घुसखोरी बढेको भन्दै अव त्यस्तो नहुने बताइन् । मन्त्री अर्यालले देशभरका मालपोत कार्यालयलाई व्यवस्थीत तथा सेवाग्रहीमैत्री बनाइएको दाबी पनि गरेकी छिन् । मन्त्री अर्यालले सरोकारवालासँग छलफल गरेर गुठी विधेयक अघि बढाउन लागेको जानकारी दिइन् । यसका लागि सरोकारवालासँग ४ पटक छलफल गरेको बताउँदै मन्त्रालयको कुरामा उनीहरुले सहमति जनाएको मन्त्री अर्यालको दावी छ । मन्त्री अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको भन्दै नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधिक टोलीले सुझाव पेस गरेको जानकारी दिइन् ।

नापी विभागले बनाएको टीमले काम अन्तिम चरणमा र्पुयाएको उनको भनाई छ । सहकारी ऐन संशोधनको तयारी गरेको भन्दै उनले वित्तीय कारोबारसँग जोडिएका विषय पनि संशोधनमार्फत सम्बोधन हुने बताएकी छिन् ।

भूमि व्यवस्था, सहकारी मन्त्रालयले विगतमा व्यक्तिको नाममा दर्ता हुन गएको २ सय ६४ बिघा ५ कट्ठा १५ धुर जग्गा फिर्ता गरी सरकारको नाममा ल्याएको बताएको छ । यस्तै, सरकारको नाममा कायम गर्न १३ बिघा १८ कट्ठा ११ धुर जग्गा रोक्का राखेको मन्त्री अर्यालले बताइन् ।

मन्त्री अर्यालको कार्यकालमा भएका प्रमुख उपलब्धी समेटिएको पुस्तिकामा हदबन्दीभन्दा बढी रहेका १० हजार १ सय ९२ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गर्न रोक्का गरिएको जनाइएको छ । नेपाल भारत सीमाका १ हजार ९३ सीमा स्तम्भ निर्माण र ८ सय ९० सीमा स्तम्भ मर्मत सम्भार गरिएको मन्त्रालयले जनाएको छ । केपी ओली नेतृत्वको सरकारकी मन्त्री अर्यालको समग्र काम गराई औसतभन्दा माथि उठ्न नसकेको आरोप लाग्दै आएको छ ।

गत मंसिर ४ गते प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गर्दा अर्याल पनि बाहिरिने चर्चा थियो । वर्तमान सरकार नै असफल भइरहेको आरोप लागेका बेला अर्यालले भने आफूले सम्हालेको मन्त्रालयले सफलतापूर्वक काम गरेको दावी गरेकी हुन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्