Logo

जनक शिक्षाको कमजोरी : ६० करोड पुस्तक छाप्न बाँकी



फागुन १६, काठमाण्डौ । प्रत्येक वर्ष नयाँ शैक्षिक सत्रको शूरुवातमा पाठ्यपुस्तकको चरम अभाव हुने गर्दछ । यसवर्ष पनि नयाँ शैक्षिक सत्र सुरु हुँदासम्म विद्यालय तहका विद्यार्थीले पुस्तक पाउने सम्भावना लगभग टरेको छ । चैत १५ गतेभित्र विद्यार्थीको हातमा पुस्तक पुग्नुपर्ने हो ।

जनक शिक्षा साम्राग्री केन्द्रले २ करोड ११ लाख पुस्तक छाप्ने लक्ष्य राखेको भएतापनि हालसम्म १ करोड ४० लाख पुस्तक मात्रै छपाई भएको छ । अबको डेढ महिनामा नयाँ शैक्षिक सत्र शुरु हुदैछ । अघिल्लो वर्षको समस्यालाई मध्यनजर गर्ने हो भने नयाँ शैक्षिक सत्रको सम्पूर्ण तयारी अहिलेसम्म त लगभग सबै निकायबाट पूरा भइसक्नुपर्ने हो ।

तर हुन सकेन । नानीदेखि लागेको बानी कहाँ छुटथ्यो र भने झै भएको छ । हरेक वर्ष झै यसपटक पनि पुस्तक छपाईमै ढिला भएको छ । शैक्षिक वर्ष २०७७ लागि जनक शिक्षा साम्राग्री केन्द्रले २ करोड ११ लाख पाठयपुस्तक छाप्नुपर्छ । तर अहिलेसम्म १ करोड ४० लाख पुस्तक मात्रै छापिएको छ । जनक शिक्षाले चैत्र २० गतेसम्ममा बाँकी करिब ६० करोड पुस्तक छापिसक्ने लक्ष्य राखेको छ । यो लक्ष्य आफैमा ढिलो हो ।

किनभने चैत २० गतेसम्म पुस्तक छपाई हुँदा बैशाख १ गतेभित्र देशभरका दुर दराजका विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीको हातमा पुस्तक पुर्याउन असम्भव जस्तै छ । काठमाण्डौ उपत्यकाकै विद्यालयका विद्यार्थीलेसमेत समयमा पुस्तक नपाउने हो कि भन्ने आशंका उब्जिएको छ ।

जनक शिक्षा सामग्री लिमिटेडले कक्षा २, ३, ४, ५, ९ र १० को पुस्तक छपाईसकेको छ । कक्षा ६, ७ र ८ को पुस्तक रंगिनमा हुने भएकाले छपाईमा ढिलाई भएको केन्द्रका निर्देशक चित्रबहादुर आचार्य बताउँछन् ।

पुस्तक छपाइमा करिब ३ सयजना कामदारहरु खटिरहेनुका साथै ६ वटा मेसिनमा काम भइरहेको छ । सरकारले सार्वजानिक विद्यालयका विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तक वितरण गर्न २ अर्ब २२ करोड रुपैयाँ अनुदान स्थानीय तहमा पठाएको छ । वैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्न सो रकम स्थानीय तहमार्फत विद्यालयमा पठाएको हो ।

शिक्षा विभागले अन्तरनिकाय वित्तीय हस्तान्तरणअन्तर्गत संघीय मामिला मन्त्रालयमार्फत २ अर्ब २२ करोड २२ लाख २२ हजार रुपैयाँ पठाएको हो । सरकारले यो वर्ष कक्षा १ देखि १० सम्म ३ करोड ६० लाख थानभन्दा बढी पाठ्यपुस्तक छपाइ गर्ने जनाएको छ । कक्षा १ देखि ५ सम्म ५ थान, कक्षा ६ देखि ८ सम्म ९ थान तथा कक्षा ९ र १० का लागि ८ थान आवश्यक पर्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्