Logo

ओलीले वामदेवका लागि नभई अर्थमन्त्री खतिवडाका लागि संविधान संशोधन गर्ने



फाईल तस्बिर/रिपोर्टर्स नेपाल डटकम

काठमाडौं, १७ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा नछाड्ने गरी रणनीति बनाएका छन् । राष्ट्रपतिबाट मनोनित सदस्यमा नेकपा सचिवालयले वामदेव गौतमको पक्षमा निर्णय गरेपछि अप्ठ्यारोमा परेका ओलीले नयाँ योजना बनाएका छन् ।

ओलीले राष्ट्रियसभा सदस्य संख्या नै बढाउने गरी संविधान संशोधन गर्नेबारे परामर्श गरेका छन् । हाल राष्ट्रियसभामा राष्ट्रपतिबाट तीनजना मनोनित हुने प्रावधान छ । अब छ जना बढाएर सदस्य संख्या बढाउनेबारे ओलीले परामर्श गरेको बुझिएको छ ।

गौतमलाई तत्काल मनोनित गर्ने र त्यसपछि संविधान संशोधन गरी संख्या बढाएर खतिवडाको मन्त्री पद सुनिश्चित गर्नेबारे ओलीले परामर्श गरेका हुन् । विश्वस्त स्रोतका अनुसार वामदेव गौतमलाई भैंसेपाटीस्थित निवासमै पुगेर नेकपा महासचिव पौडेलले यो योजना सुनाएका हुन् । नेकपा सचिवालयको निर्णय अनुसार गौतम नै मनोनित हुनेबारे समेत सन्देश सुनाए । तर, राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने प्रावधान राखी संविधान संशोधन गर्नेबारे भने ओली सहमत नभएको पौडेलले जानकारी गराएका थिए ।

मध्यमार्गी बाटो खोजेर गौतमलाई पनि मनोनित गर्ने र खतिवडालाई पनि समेट्ने गरी योजना बन्नसक्नेबारे छलफल गरेका थिए । तर, गौतम ओलीप्रति निकै रुष्ट देखिएका थिए । स्रोतका अनुसार विगतमा अध्यक्ष जिताउन आफूले सहयोग गरेको बिर्सिएको भन्दै आक्रोश पोखेका थिए । तत्कालिन नेकपा एमालेको महाधिवेशनमा गौतमले ओलीलाई साथ दिएकाले झीनो मतान्तरले अध्यक्ष जित्न सफल भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot