Logo

मविरुद्ध करोडौं खर्च गरेर षड्यन्त्र गर्ने गिरोहको नाइकेको नाम पार्टीलाई दिएको छु- मुख्यमन्त्री राई



काठमाडौं, १७ फागुन । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले आफूमाथि एउटा गिरोह षड्यन्त्रमा लागेको भन्दै त्यसका नाइकेको पर्दाफास हुने बताएका छन् । आफूमाथि बालिका खड्काले पति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा हिजो मुद्दा दायर गरेको आज उनले पत्रकार सम्मेलन गरेर गिरोहकै योजना बमोजिम यो कदम चालिएको दाबी गरे । उनले गिरोहको नाइकेको किटानी नामसहित पार्टीको पोलिटब्यूरो बैठकमा छलफल भएको खुलासा समेत गरे । तर, उनले ती नाइके को हुन् भनी खुलाएनन् ।

आफ्नो राजनीतिक भविष्य नै समाप्त गर्ने गरी गिरोहले करोडौं खर्च गरेको उनको आरोप थियो । ‘मविरुद्ध एउटा गिरोह नै लागेको छ जसको नाइकेको नाम पार्टीमा दिएको छु,’ मुख्यमन्त्री राईले भने, ‘यही गिरोहको योजना अनुसार यो सबै भइरहेको छ ।’ बालिका खड्काको नाम नलिई उनले आरोप लगाउनेलाई नचिन्ने दाबी गरे । आफू सञ्चारमन्त्री हुँदा देखि नै यो षड्यन्त्र भएको उनले खुलाए । उनले भने, ‘ममाथि षड्यन्त्र गर्नेको पर्दाफास हुन्छ ।’ निकै भावुक रुपमा प्रस्तुत भएका राईले आफू निष्ठावान कम्युनिष्ट पार्टीको सिपाही भएको बताए । विश्वकै कम्युनिष्ट आन्दोलनमा नभएको षड्यन्त्र आफूमाथि भएको उनको भनाई थियो ।

आफूविरुद्ध षड्यन्त्र गर्ने गिरोहविरुद्ध सीआइबीमा उजूरी समेत गरेको खुलासा गरे । तत्कालिन डिआइजी नवराज सिलवाललाई यसबारे जानकारी गराएको समेत खुलाए । उनले भने, ‘मलाई छ वटा मोबाइलबाट लगातार मेसेज पठाइएको थियो जसलाई मैंले सीआइबीमा समेत दिएको थिएँ ।’ आफू निर्दोष भएकालेसमेत ढुक्क भएर काम गर्न त्यतिबेला अध्यक्ष केपी शर्मा ओलीले भनेको बताए । पछिल्लो समय एकपछि अर्को घटना विकास भइरहँदा आफूलाई त्यसैमा मुछ्न खोजेको उनको भनाई थियो । सत्तारुढ दलका मन्त्री देखि नेता समेत विभिन्न काण्डमा मुछिइरहँदा यसैमा राखेर हल्ला चलाउन खोजेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्