Logo

आलोचित मन्त्रालयले देखायो प्रगतिको तथ्याङ्क : नयाँ मन्त्री नेम्वाङ कति सफल ?



फागुन १७, काठमाण्डौ । सरकारको कामको चौतर्फी आलोचना भइरहँदा मन्त्रालयहरुले भने उल्लेखनीय काम गरेको दावी गरेका छन् । विगतमा सबैभन्दा बढि आलोचना खेपेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पछिल्लो एक सय दिनको कामको विवरण सार्वजनिक गर्दै सफलताको तथ्याङ्क पेश गरेको छ । मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा मन्त्री बसन्तकुमार नेम्वाङले कामको विवरण सार्वजनिक गरेका हुन् ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासका कामलाई तीव्रता दिएको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मध्यपहाडी राजमार्ग, हुलाकी सडक, उत्तरदक्षिण राजमार्ग, गल्छी–रसुवागढी सडक, मदन भण्डारी राजमार्ग, कालिगण्डकी करिडोरलगायत आयोजनाको पूर्वाधार निर्माणमा सरकारले विशेष चासोका साथ काम भइरहेको दावी गरेका हुन् ।

आफू मन्त्री भएपछिको १०० दिनमा भएका कामकारवाहीका बारेमा जानकारी दिदै मन्त्री नेम्वाङले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार निर्माण कार्य तीव्रत्तररुपमा अघि बढेको जानकारी दिए । मन्त्री नेम्वाङले महत्वपूर्ण आयोजना हुलाकी सडकअन्तर्गत ४८ किलोमिटर सडक निर्माण सम्पन्न भएको बताए । मन्त्री भएपछिका तीन महिनाको अवधिमा स्थानीय सडकमा पर्ने ४० पुल निर्माण गरिएको उनको दावी छ ।

गौरवका आयोजनाबाहेक मुलुकभर सञ्चालनमा रहेका आयोजना, सडक पूर्वाधार विकास र तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रमतर्फ मात्रै सय दिनको अवधिमा २०० किलोमिटर सडक कालोपत्र भएको मन्त्रालयको दावी छ । पछिल्लो १०० दिनमा काठमाडौँ उपत्यकाको नौ हजार ५ सय खाल्डाखुल्डी पुरेको छ ।

मन्त्रालयले सार्वजनिक सवारी साधनको नियमन गर्न सरकारले प्रविधिको प्रयोग गरी ‘भेइकल ट्राकिङ सिष्टम’ कार्यान्वयनका लागि प्रक्रिया थालेको छ । सवारीको अत्यधिक भारका कारण दुर्घटना निम्तिरहेका सन्दर्भमा सरकारले त्यसलाई नियन्त्रणका लागि चितवनको जुगेडी र बर्दिवासमा तौल पुल स्थापना गर्न लागेको मन्त्री नेम्वाङले बताए । सडक सुरक्षा र यात्रुको सहजतालाई पहिलो पटक ‘यात्रु रिपे्रmसमेन्ट सेन्टर’ सञ्चालन गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी आवश्यक खरिद प्रक्रिया थालिएको छ ।

मन्त्रालयले रुग्ण आयोजनाका लागि एक वर्षको म्याद दिएकाले समयमै काम सम्पन्न नगरे ठेक्का तोड्ने चेतावनी दिएको छ । अहिलेको एक वर्ष निर्माण व्यवसायीका लागि अन्तिम मौका दिइएको मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षमा २४ प्रतिशत पूँजीगत खर्च भएको जानकारी दिँदै कतिपय ठेक्का सम्झौता भएका र कतिपय भुक्तानी बाँकी रहेको मन्त्रालयले जनाएको छ । गत मंसिर चार गते प्रधानमन्त्री केपी ओलीले रघुविर महासेठलाई हटाएर नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका थिए ।।



प्रतिक्रिया दिनुहोस्

Screenshot