Logo

छ सय गाडी भन्सारमा अलपत्र



काडमाडौँ, १८ फागुन । सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय आईपीसी र सुक्खा बन्दरगाह सिर्सियामा लगभग छ सयभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन अलपत्र छन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत विमलकुमार साहले आयातकर्ताले विदेशबाट विलासी कार जिप आयात गरेका तर जाँच पास नगराउँदा ती सवारीसाधन भन्सार याडमा थन्किएको बताएका छन् ।

सय कार जिपमा हुन्डाई, टोयोटा, किया, इसुजुलगायत ब्रान्डका कारको सङ्ख्या उच्च रहेको छ । तेस्रो मुलुकबाट आयात भई आएका विलासी कार जिपको भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिभृद्धि कर तथा सडक सम्भार दस्तुर गरी करिब सवारीसाधनको मूल्यभन्दा झण्डै डेढ सय प्रतिशतसम्म राजस्व तिर्नुपर्ने भएकाले आयातकर्ताले ग्राहक पाएपछि मात्र यस्ता कार जिप छुटाउने गरेको भन्सार अधिकृतको भनाइ छ । आयातकर्ताले प्रदर्शनी कक्षमा राखिएका गाडी देखाएर गाडी बुक गर्ने गरेको र सोबापत अग्रिम रकम प्राप्त भएपछि मात्र गाडी छुटाउने प्रक्रिया अगाडि बढाउने गरेका छन् । गाडी खरिदमा बैङ्क र वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्न कडाइ गरेकाले पनि विलासी सवारीसाधनको आयातमा निकै कमी आएको छ । आयातकर्ताले समयमा सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय ९आईपीसी० एकीकृत भन्सार चेक पोस्ट र सिर्सिया सुक्खा बन्दरगाहको राजस्व सङ्कलन पनि प्रभावित हुँदा लक्ष्यअनुरूपको राजस्व सङ्कलन हुन नसकेको भन्सार अधिकृतको भनाइ छ ।

भन्सार कार्यालयले तोकेको समय सीमाभित्र सवारीसाधन नछुटाउँदा २४ घण्टाभित्र भन्सार यार्डबाट गाडी छुटाएर लगेमा क्षमता अनुसार न्यूनतम ३६ रुपियाँदेखि ६४३ रुपियाँ प्रवेश शुल्क तिर्नुपर्छ । त्यस्तै सात दिनसम्म पार्क गरेमा प्रतिदिन ४२८ रुपियाँका दरले तथा सात दिनपछि जति दिनसम्म पार्क गर्दा पनि एक दिनको ४७१ रुपियाँ पार्किङ शुल्क लाग्ने व्यवस्था रहेको वीरगञ्ज भन्सारको आईपीसी भन्सार सञ्चालन नेपाल इन्टरमोडेल यातायात विकास समिति आईपीसीका शाखा अधिकृत जितेन्द्र रसाइलीले बताएका छन् । भन्सार यार्डमा गाडी पार्किङ गर्दा बढी पैसा तिर्नुपर्ने भएकाले धेरै जसो आयातकर्ताले सीमावर्ती क्षेत्र भारतको रक्सौलमा सञ्चालनमा रहेका निजी ग्यारेज वा गाडी राख्न बनाइएका सुरक्षित पार्किङस्थल भाडामा लिएर गाडी राख्ने गरेको क्लियरिङ एजेन्ट सञ्जय अग्रवालले बताएका छन् । वीरगञ्ज भन्सार आईपीसी सुक्खा बन्दरगाहमा राखिएका गाडीभन्दा पनि भारत र तेस्रो मुलुकबाट आयात भई आएका सवारीसाधन भारतीय भूमि रक्सौलमा ठूलो सङ्ख्यामा राखिएको अग्रवालको भनाइ छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्