काठमाडौँ, १८ फागुन । काठमाडौंको वायुको गुणस्तरमा पोहोरका तुलनामा यो वर्ष सुधार आएको छ । अघिल्लो वर्ष आँखाले देख्न नसकिने धूलोको कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम रहेकामा अहिले ४४.५ माइक्रोग्राममा झरेको छ ।
यो सरकारले तोकेको मापदण्डभन्दा ४.५ माइक्रोग्रामले बढी हो । सरकारले प्रतिघनमिटर हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले भने २५ माइक्रोग्राम (प्रति २४ घण्टा) तोकेको छ । उसले विश्वभर त्यस्तो धूलोका कण १० माइक्रोग्राममा झार्नेर् लक्ष्य राखेको छ । डब्लूएचओका अनुसार कुनै स्थानमा पीएम २।५ को मात्रा ४४.४६ माइक्रोग्राम छ भने त्यो संवेदनशील किसिमका व्यक्ति र समूहका लागि अस्वस्थ मानिन्छ । वातावरण विभागले सन् २०१७ मा गरेको अध्ययनले जाडो महिनामा काठमाडौंमा पीएम २.५ को मात्रा १८० माइक्रोग्रामसम्म पुगेको देखाएको थियो ।
घरभित्र र बाहिरको वायु प्रदूषणका कारण बर्सेनि विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ । वायु प्रदूषणका कारण स्ट्रोक, मुटुसम्बन्धी रोग, फोक्सोको क्यान्सरजस्ता रोगको सम्भावना हुन्छ । विश्वको जनसंख्याको ९२.५ प्रतिशतभन्दा बढी मानिस हावामा डब्लूएचओले तोकेको मापदण्डभन्दा बढी पीएम २.५ रहेको स्थानमा बस्छन् । आईक्यू एअरको शनिबार प्रकाशित ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन’ मा काठमाडौं उपत्यका १३७ औं स्थानमा छ । स्विट्जरल्यान्डमा मुख्यालय भएको ‘आईक्यू एअर’ सन् १९६३ मा स्थापना भएको अमेरिकी कम्पनी हो । यसले हरेक वर्ष विश्वका प्रदूषित सहरका बारेमा प्रतिवेदन सार्वजनिक गर्छ । यसले सन् २००० देखि वायुको गुणस्तरसम्बन्धी अध्ययन अनुसन्धान गर्न थालेको हो । सन् २०१७ देखि यसले विश्वका सहरको प्रदूषण मनिटरिङ विश्लेषण गर्दै आएको छ । आईक्यू एअरको गत वर्षको प्रतिवेदनअनुसार काठमाडौं प्रदूषित सहरको सूचीको १०० औं नम्बरमा थियो । यो वर्ष ९८ देश र त्यसभित्रका सहरको तथा गत वर्ष ७३ देश र सहरी क्षेत्रको वायुको गुणस्तर विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
क्षेत्रीय (वर्ल्ड रिजनल सिटिज) राजधानीको वरीयता मानकका हिसाबले पनि काठमाडौंको वायुको गुणस्तर एक स्थान माथि उक्लिएको छ । सन् २०१८ मा सातौं स्थानमा रहेको काठमाडौं सन् २०१९ मा छैटौं स्थानमा उक्लिएको हो ।वातावरणविद् भूषण तुलाधरले सन् २०१९ मा वायु प्रदूषणको मात्रा दुई वर्षअघिजस्तो उकालो नलागेको बताए । ‘प्रदूषणको मात्रा रोकिएको देखिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘तर यसलाई भयंकर उपलब्धि भन्नचाहिँ मिल्दैन ।’ वायु प्रदूषण मापन केन्द्रले दिने परिणामलाई विश्लेषण गरेर विश्वभरको वायुको गुणस्तर विश्लेषण गर्ने गरिएको छ । (कान्तिपुर दैनिकबाट)