Logo

संशोधित खर्चको लक्ष्य भेटाउने दाबी



काठमाडौँ, १८ फागुन । चालू आर्थिक वर्षमा खर्च बढाउने योजना कार्यान्वयन गर्न असफल भएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको बेला सरकारले संशोधित लक्ष्यअनुसार नै खर्च हुने दाबी गरेको छ । सात महिनासम्म २० प्रतिशत पनि विकास बजेट खर्च गर्न नसकेको सरकारले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार नै बजेट खर्च गर्ने दाबी गरेको हो ।

चालू आवमा सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड बजेट खर्च गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यअनुसार बजेट खर्च हुन नसकेपछि अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार र राजस्वको लक्ष्य घटाएर लक्ष्यको ९०.४ प्रतिशत अर्थात १३ खर्ब ८५ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ । लक्ष्य भेटाउन समेत चुनौती भइरहेको बेला अर्थमन्त्री डा। युवराज खतिवडाले विकास खर्च पहिले भन्दा अहिले कम नभएको दाबी गरे । उनले भने, “चालू आवको छ महिनाको तथ्यांक हेर्दा खर्च नभएको जस्तोे देखिन्छ,” उनले भने, “तर अघिल्ला वर्ष भन्दा कम खर्च भएको होईन, तथ्यांक आउन भएको ढिलाइले खर्च कम देखिएको हो ।”

उनले अघिल्लो वर्ष प्रदेश र स्थानीय तहमा गएको बजेट त्यही स्थानीय र प्रदेश संञ्चित कोषमा गएको र ती सरकारहरूले त्यही बजेट खर्च गर्दा संघको बजेट कम खर्च भएको देखिएको स्पष्ट पारे । यद्यपि महालेखाको तथ्यांकमा भने अर्थमन्त्रीले भनेजस्तो स्थानीय र प्रदेश सरकारको खर्च बढेको छैन । (कारोबार दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्