Logo

जहिल्यै खाद्यान्‍न अभाव



काठमाडौँ, १८ फागुन । एक महिनासम्म घरमा भएको अन्न तौलीतौली खायौं, कति दिन त एक छाक मात्र खाएर पनि गुजारा चलायौं । जति हिउँ थपिन्थ्यो । भोकमरी हुने भयो भनेर हाम्रो चिन्ता पनि उति नै थपिन्थ्यो,’ एक महिनाभन्दा बढी समय खाद्यान्न अभावको सामना गरेको बझाङ साइपाल गाउँपालिका धुलीका रामबहादुर बोहराको भनाइ हो यो ।

समुद्र सतहबाट करिब तीन हजार पाँच सय मिटर उचाइमा रहेको धुली गाउँ बझाङको उत्तरतर्फको अन्तिम मानवबस्ती हो । मंसिर अन्तिम सातादेखि लगातार भएको हिमपातले घरको ढोकासम्म पुरेको यो गाउँका बासिन्दा सरकारले हेलिकप्टरबाट चामल पुर्‍याइदिएपछि तीन साताअघि मात्र भोकमरीको खतराबाट मुक्त भएका छन् । हिमपातले बाटो अवरुद्ध भएपछि नेपाल खाद्य संस्थानले तत्कालको खाद्य संकट टार्न साइपाल ४ र ५ मा सुर्खेतबाट २५ क्विन्टल चामल पठाएको थियो । ‘बाटो बन्द भएपछि सबैभन्दा पहिला स्थानीय पसलमा भएको चामल सकियो, केही दिन अ‍ैंचोपैंचो गरेर पनि खायौं,’ बोहराले भने, ‘घरमा भएको सबै अन्न सकिएपछि कतिले एक–डेढ सातासम्म साग र सिस्नु खाएर गुजारा चलाए । अभाव त सधैं हुन्थ्यो, यसपालि जस्तो भएको थिएन ।’

धुलीको जस्तै समस्या साइपाल गाउँपालिकाको बलौडी, न्युना, काया, बाझचौका, काँडालगायत गाउँलेले पनि भोगे । ‘कतिले निकै दिनसम्म अन्न चाख्न पाएनन्,’काँडाकी लछी बोहराले भनिन्, ‘घरमा भएको आलु, जंगली सिस्नु र कन्दमूल खाएर छाक टारे ।’ दिनै पसलबाट किनेर खाने परिवारले यो वर्ष निकै समस्या खेपेको उनले बताइन् । सुदूरपश्चिम प्रदेश खाद्य कार्यालयका प्रमुख अनिल श्रेष्ठले अहिले त्यस क्षेत्रमा भेडा, च्याङ्ग्राबाट खाद्यान्न ढुवानी गरिरहेको जनाए । ‘काँडा र साइपाल क्षेत्रका लागि ८ सय क्विन्टल चामल ढुवानी भइरहेको छ,’ उनले भने । साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको यो पहिलो पटक होइन । उच्च हिमाली भेगमा रहेको र हालसम्म सडक सञ्जालमा नजोडिएको यो गाउँपालिकाले प्रत्येक वर्ष हिउँदमा खाद्यान्न अभावको सामना गर्नुपर्छ । ‘खाद्यान्न अभाव त सालै हुन्छ,’ काँडा माध्यमिक विद्यालयका शिक्षक उज्ज्वल बोहराले भने, ‘यो वर्ष बढी हिउँ परेकाले भोकभोकै बस्नुपर्ने अवस्था आएर मिडियामा बढी आएको हो,’ उनले यहाँ प्रत्येक वर्ष हिउँदयाममा खाद्यान्नको अभाव हुने र न्यून आय भएका परिवारहरू बढी पीडित हुने गरेको बताए ।

करिब चार सय परिवारको बसोबास रहेको यो गाउँपालिकामा खेतीपातीबाट हुने उब्जनी अन्यन्तै न्यून हुने भएकाले पूर्ण रूपमा आयातीत खाद्यान्नको भर पर्नुपर्छ । दुई वर्षअघिसम्म सदरमुकाममा ३४ रुपैयाँ किलो पर्ने चामल २ सय ५० रुपैयाँसम्ममा किन्नुपर्ने बाध्यता थियो । यहाँका स्थानीयको समस्याबारे कान्तिपुरमा समाचार प्रकाशित भएपछि नेपाल खाद्य संस्थानले वर्षमा एकपटक अस्थायी वितरण केन्द्र राखेर खाद्यान्न वितरण गर्दै आएको छ । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्