Logo

भारतीय राजदूत क्वात्रा नेपाल आइपुगे



काठमाडौं, १८ फागुन । नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्रा नेपाल आइपुगेका छन् । उनी आजै दिल्लीबाट काठमाडौं आइपुगेका हुन् ।

क्वात्रालाई भारतीय राजदूतावासका कार्यवाहक राजदूत अजय कुमारले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । उनलाई स्वागत गर्न भारतीय राजदूतावासका अधिकारीहरु विमानस्थ पुगेका थिए ।
भारतीय विदेश सेवामा ३२ वर्ष लामो अनुभव सँगालेका क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुचाएका कुटनीतिज्ञमध्येका हुन् ।

को हुन् क्वात्रा
विनय मोहन क्वात्रा सन् १९८८ को भारतीय विदेश सेवा आइएफएस ब्याचका अफिसर हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा विदेश मन्त्रालयमा प्रतिआतंकवादी डेक्स हेर्थे । उनलाई पछि प्रधानमन्त्री कार्यालयमा विशेष ड्युटीसहितको जिम्मेवारी दिइएको थियो । कुसल कार्यक्षमताका कारण विदेश मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा लगिएको थियो । उनको काम गर्ने शैलीबाट मोदी प्रभावित भएर निजी सचिव बनाउन खोजेका थिए । उनलाई प्रधानमन्त्री कार्यालयमा विशेष जिम्मेवारी दिएर अर्का युवा अधिकृतलाई निजी सचिव बनाएका थिए ।

विज्ञानका विद्यार्थी क्वात्रा तीक्ष्ण बुद्धिका थिए । विज्ञानमा स्नातकोत्तर गरेपछि भारतको लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी आइएफएस बनेका थिए । अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी नभएपनि उनी विदेश मन्त्रालयको अधिकृत बने । तर, उक्त विषयको औपचारिक अनौपचारिक अध्ययन छाडेनन् । जेनेभामा पोष्टिङ्ग हुँदा उतै अन्तर्राष्ट्रिय सम्बन्धको स्नातक तहको अध्ययन पूरा गरेका थिए । बौद्धिक व्यक्तित्व क्वात्राले आफ्नो अध्ययनको विषयभन्दा भिन्न क्षेत्रमा प्रवेश गरेर पनि कार्यक्षमता देखाए ।

क्वात्रासँग भारतको स्थायी प्रतिनिधिका रुपमा संयुक्तराष्ट्रसंघको जेनेभास्थित कार्यालयमा काम गरेको अनुभव छ । आइएलओ र डब्लुएचओ जस्ता संयुक्तराष्ट्रसंघीय संस्थामा भारतको प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हालेका थिए । क्वात्राले विदेश मन्त्रालयमा रहँदा संयुक्तराष्ट्रसंघ सम्बन्धि डेस्क र मिसनमा बढी काम गरे । सन् १९९३ देखि २००३ सम्को दश वर्ष राष्ट्रसंघसम्बन्धित भारत डेक्समा काम गरेका थिए । सन् २००३ देखि २००६ सम्म चीनका लागि भारतीय राजदूतावासमा समेत काउन्सलरका रुपमा काम गरे । उनी पछि डिसिएम समेत भएका थिए । यूरोपमा मात्र नभई उनी चीनमा समेत रहेर काम गरे । चीन मामलाका समेत जानकार हुन् क्वात्रा । उनी दक्षिण अफ्रिका र उज्वेकस्तिानमा पनि कुटनीतिज्ञका रुपमा काम गरिसकेका छन् ।

क्वात्रा नेपालबारे समेत जानकार छन् । उनी सन् २००६ देखि २०१० सम्म उनको पोष्टिङ काठमाडौंस्थित सार्क सचिवालयमा थियो । जहाँ उनी व्यापार ब्युरोको प्रमुख भएर काम गरे । नेपाललाई त्यतिबेला क्वात्राले नजिकबाट बुझ्ने मौका पाएका थिए । सार्क सचिवालयमा कुशलतापूर्वक काम गरेपछि उनको पोष्टिङ अमेरिकामा भयो । सन् २०१० देखि २०१३ सम्म अमेरिकास्थित भारतीय राजदूतावासको वाणिज्य ब्युरो प्रमुखमा रुपमा काम गरे । उनले साउथ ब्लकमा अमेरिका र क्यानडा डेक्स पनि हेरे । क्वात्राले दुई वर्ष भारतको प्रधानमन्त्री कार्यालयमा सहसचिवका रुपमा जिम्मेवारी सम्हालेपछि फ्रान्सका लागि राजदूत भएका थिए ।



प्रतिक्रिया दिनुहोस्