Logo

मृगौलाले ध्यान मोडेको राजनीति



काठमाडौं, १८ फागुन । जतिबेला नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणको मिति तय भएको खुल्यो । त्यो पनि नेकपा सचिवालय बैठकमार्फत् । प्रधानमन्त्री ओलीले बालुवाटारमा सचिवालय बैठक बोलाएर मृगौला प्रत्यारोपणको जानकारी गराए जसलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक गरे ।

नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न सरकारले प्रस्ताव गर्ने नगर्ने विषय विवादमा रहेकै बेला ओलीको मृगौला प्रत्यारोपणको टुंगो बाहिर आयो । यो संयोग मात्र हुनसक्ला तर ध्यान अन्यत्रै मोडिने अवस्था बन्यो ।

सचिवालय बैठकले वामदेवबारे फेरि कुनै निर्णय लिए नलिएको बाहिर आएको छैन । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण र सफलताको कामना गरिएको मात्र भने । आजै साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिएको छ । मन्त्रिपरिषद्ले वामदेवको नाम प्रस्ताव गर्ला नगर्ला ? यसतर्फ भने ध्यान गएको छ ।

नेकपाभित्र ओलीको बर्हिगमनका लागि अविश्वासको प्रस्तावको रणनीति समेत बनेको चर्चा नचलेको होइन । स्वयं प्रधानमन्त्री ओलीले आफूलाई हटाउन षड्यन्त्र भएको आरोप लगाएका थिए । उनले आरोप लगाउँदै गर्दा एमसीसी देखि वामदेवको विषयले नेकपाभित्र नयाँ राजनीतिक संकट बनाएको थियो । ओली सरकारमाथि एकपछि अर्को चुनौती बढिरहँदा प्रधानमन्त्री उपचारका लागि अस्पतालको बेडमा जाने भएका छन् । बुधबारबाट उनी बेडमा रहनेछन् । यसले विकसित राजनीतिक घटनाक्रमलाई कता लाने हो ? यो प्रश्न चासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot