Logo

चर्चित थप्पड र जुत्ता काण्डहरु



काठमाडौं, १८ फागुन । यसपटक फेरि जुत्ता काण्ड चर्चामा आयो । विदेशमा नेताहरुलाई जुत्ता प्रहार भएको घटना चर्चामा आइरहन्छ । तर, यसपटक नेपालमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भयो । त्यो पनि पूर्व माओवादी लडाकुका छोरा रतन तरुवाबाट ।

प्रचण्डमाथि थप्पड
नेपाल संवत ११३३ को अवसरमा आयोजना गरिएको चीयापानमा तत्कालिन एनेकपा अध्यक्ष प्रचण्डलाई बाग्लुङका पदम कुँवरले २०६९ मंसिरमा थप्पड हानेका छन् । कुँवरले प्रचण्डलाई थप्पड हानेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । कुँवर पूर्व माओवादी लडाकु हुन् । उनीपछि प्रचण्डविरुद्ध चुनाव पनि लडेर चर्चामा आए । कुँवरमाथि कुटपिट समेत भयो । पछि उनी अदालती कारबाहीपछि २८ हजार धरौटीमा रिहा भएका थिए ।

प्रचण्डमाथि थप्पड प्रहार हुँदा तत्कालिन एनेकपा माओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।

खनालमाथि थप्पड
तत्कालिन नेकपा एमालेका अध्यक्ष झलनाथ खनालमाथि सुनसरीमा एमाले कार्यकर्ता देवीप्रसाद खनालले झापड हानेका थिए । ७ माघ २०६७ मा सुनसरीमा भएको नेकपा एमालेमा पार्टी प्रवेश कार्यक्रममा लाइनबाट आएर उनले थप्पड हानेका थिए । थप्पड हानेपछि उनी अदालतको आदेशमा धरौटीमा रिहा भए । झलनाथ खनाल थप्पड खाएको १५ दिनपछि प्रधानमन्त्री बने । देवी अहिले कृषि पेशामा छन् ।

प्रचण्डमाथि जुत्ता प्रहार
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई लक्षित गरी १८ फागुन २०७६ मा राष्ट्रिय सभागृहमा जुत्ता प्रहार भयो । उनी भरतमोहन अधिकारी प्रतिष्ठानको कार्यक्रममा बोलेर मञ्चतर्फ जाँदै गर्दा जुत्ता प्रहार भएको थियो ।

जुत्ता प्रहार गर्ने रतन तिरुवा कम्युनिष्ट सिद्धान्तबाट प्रेरित भएका युवा हुुुन् । पूर्व माओवादी लडाकुका छोरा तिरुवाको स्थायी घर जुम्ला हो । जुम्लाबाटै विद्यालय तहको अध्ययन पूरा गरी उनी पछिल्लो समय सर्भे इञ्जिनियरिङमा अध्ययनरत छन् । उनी माक्र्सवादको समेत गहिरो अध्ययन गरेका युवक हुन् । आफ्नो फेसबुकको परिचय पेजमै उनले लेखेका छन्, जबसम्म सामन्तवादी र पुँजीवादी दुष्टहरुको अन्त हुँदैन तबसम्म सर्वहारा वर्गको अधिनायकत्व प्राप्त हुँदैन ।

सुशील कोइरालामाथि कुर्सी प्रहार
नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालामाथि १३ असोज २०६९ मा कुर्सी प्रहार भएको थियो । उनलाई सामान्य चोट पनि लाग्यो । कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा उनलाई नेविसंंंघ कार्यकर्ता प्रवेश बस्नेतले कुर्सी पूहार गरेका थिए ।

पौडेलमाथि थप्पड
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलमाथि गोल्छे सार्कीले जुत्ता हानेका थिए त्यो पनि संसदमै । २०५१ सालमा उनीमाथि गोल्छेले असन्तुष्टि जनाउँदै जुत्ता हानेका थिए । त्यतिबेला पौडेल मन्त्री थिए । गोल्छेले पछि कम्युनिष्ट राजनीतिक छाडे ।

पूर्णबहादुर खड्कामाथि चप्पल प्रहार
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कामाथि पनि संसदमै आक्रमण भएको थियो । उनलाई सभासद कमला शर्माले जुत्ता प्रहार गरेकी हुन् । सुर्खेतबाट त्यतिबेला निर्वाचित भएकी शर्माले आफ्नो पतिको हत्यामा खड्का संलग्न भएको आरोप लगाएकी थिइन् । शर्माले संविधानसभाको बैठक सकिनेवित्तिकै मौक छोपी जुत्ता हानेकी थिइन् ।

झक्कुमाथि थप्पड
माधवकुमार नेपाललाई काठमाडौंबाट चुनाव हराएर चर्चामा आएका झक्कुप्रसाद सुवेदीमाथि चीसा पसलमा थप्पड प्रहार भएको थियो । १९ वैशाख २०६८ मा उनीमाथि स्थानीयले थप्पड हानेका थिए ।

प्रचण्ड र बाबुराममाथि कुर्सी प्रहार
तत्कालिन एनेकपा माओवादी नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईसहित शिर्ष नेताहरु भृकुटीमण्डपको पार्टी बैठकमा सहभागी हुँदा असन्तुष्ट लडाकुले कुर्सी प्रहार गरेका थिए । ३ साउन २०६९ मा भएको यो घटनाले त्यतिबेला माओवादीमा ठूलो बहसको विषय बनेको थियो ।

अन्य
संसदमा कुर्सी फाल्ने र हान्ने घटना धेरै भए । जसमध्ये विश्वेन्द्र पासवानले दलितको अधिकार नपुगेको भन्दै कुर्सी फालेको घटना चर्चित छ । कुर्सी हान्नेमा तत्कालिन माओवादीका सांसदहरु पनि छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot