Logo

प्रचण्डलाई जुत्ता हान्ने रतन विप्लव कार्यकर्ता



काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा विप्लव कार्यकर्ता भएको खुलेको छ । उनी विद्रोही स्वभावको भएको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रहरी स्रोतका अनुसार रतन तीन वर्षको हुँदा आमाले छाडेर गइन् । उनलाई बाबु मनु तिरुवाले हुर्काए । मनु माओवादी द्धन्द्धकालमा राज्य पक्षबाट मारिए । तर, उनको नाम माओवादीको सहिद सूचीमा छैन । बाबुको मृत्युपछि उनी काकाकार्कीबाट हुर्किए ।

पढाईमा जेहेन्दार रतनले सर्भे सम्बन्धि अध्ययन गरे । उनी सरकारी जागिर खान लोकसेवाको तयारीका लागि काठमाडौं आएका थिए । कम्युनिस्ट पार्टीको कार्यक्रममा उनी पुगिरहन्थे ।
जुम्लाबाटै विद्यालय तहको अध्ययन पूरा गरेका रतले माक्र्सवादको समेत गहिरो अध्ययन गरेका छन् । आफ्नो फेसबुकको परिचय पेजमै उनले लेखेका छन्, जबसम्म सामन्तवादी र पुँजीवादी दुष्टहरुको अन्त हुँदैन तबसम्म सर्वहारा वर्गको अधिनायकत्व प्राप्त हुँदैन । माक्र्सवादी विचारधाराको यो भनाईलाई उनले प्राथमिकताका साथ फेसबुकमा राखेका छन् ।

माघको अन्ततिर उनले फेसबुकमा माक्र्सवादको चरम दुरुपयोग भएको लेखेका छन् । जसमा माक्र्स र माओत्से तुङको तस्बिर देखिने गरी आफ्नो तस्बिर जोडेर राखेका छन् । उनको फेसबुक वालमा कम्युनिष्ट विचारकहरु माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर एकैसाथ राखिएको छ ।

रतनको जुम्लाबाट नेपालगञ्ज हुँदै सरकारी जागिर खाने काठमाडौंसम्मको यात्राले नयाँ मोड लिएको छ । अब उनी पूर्व प्रधानमन्त्री प्रचण्डमाथि जुत्ता प्रहार गरेकोमा कारबाहीमा पर्न सक्छन् । रतन अहिले चर्चा र चासोको शिखरमा छन् । बाल्यकालमा आमाबाबुको मायाबाट वञ्चित भएका रतन २२ वर्ष पुग्दा कसरी विद्रोही भए यो अनुसन्धानको विषय हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot