‘संविधान संशोधनको एजेण्डा अझै ८/१० वर्षसम्मपनि छलफलमा ल्याउनुहुँदैन्’
काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी सञ्चालनमा नेकपाका अध्यक्षद्धय ओली र दाहालको कमजोरी देखिएको भन्दै कडा टिप्पणी गरे । उनले भने,‘दुवै अध्यक्षले आफ्नो कार्यशैली सच्याउनुपर्छ । पार्टीमा पूरानो समूहको प्रतिबद्धता त्यागेर नयाँ ढंगले कसरी एकताबद्ध गर्ने ? कसरी गुटबन्दीरहित बनाउने भन्ने कुरामा भूमिका हुनुपर्छ ।’ उनले वामदेव गौतमलाई चुनाव हराउने पार्टीमा कुनै रणनीति नबनेको कुरा सुनाए । पत्रकारले सोधेको एक प्रश्नमा यस्तो जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पन्तले स्मरण गराए,‘उहाँलाई हराउने रणनीति पार्टीमा थियो भन्ने कुरा मेरो जानकारीमा छैन् । मेरो जानकारीमा नभएको कुरा म भन्न सक्दिन् । हो, चुनावमा पराजित भैसकेपछि स्थायी कमिटीको बैठकमा वामदेव कमरेडले मलाई यी यी मान्छेहरुले हराउन खोजे, मैले यीनीहरुलाई कारबाही गर भनेको झन यीनीहरुलाई प्रदेश कमिटीमा ल्याएर प्रमोशन गरियो, प्रेस सल्लाहकार बनाईयो भन्ने कुरा पनि बैठकमा राख्नुभयो । त्यो उहाँको आरोप थियो । तर, जहाँसम्म मलाई के लाग्छ भने वामदेव कमरेड निर्वाचनमा पराजित भैसकेपछि ५ वर्ष पर्खिनुपर्दथ्यो । उहाँले प्रधानमन्त्रीको लागि म योग्य छु भनेर ठान्ने कुरा उहाँको अधिकारको कुरा हो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा बोल्दै उनले तत्काल सरकारको नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे । ‘कतिपय मान्छेहरुको चाहना सरकारको नेतृत्व परिवर्तन होस् भन्ने होला, तर, अहिले नेतृत्व परितर्वनको कुरा उठाउनु अलिक उपयुक्त हुन्छजस्तो लाग्दैन् । हो, निश्चयपनि सरकार यही ढंगले गयो र जनतासामू लोकप्रिय हुन सकेन भने सबैको विकल्प सोच्न सकिन्छ । सरकारको नेतृत्वको विकल्पपनि पार्टीले सोच्न सक्छ, पार्टीले नेतृत्वको विकल्पनि सोच्न सक्छ । र, हाम्रो पार्टीमा एकसे एक नेता हुनुहुन्छ । प्रधानमन्त्री हुनको लागि पनि, र पार्टी अध्यक्ष हुनको लागि पनि । प्रधानमन्त्री हुन चुनाव जितेर आएका तीन जना पूर्व प्रधानमन्त्रीहरु हुनुहुन्छ । त्यसकारण चिन्ता गर्नुपरेन । तर, अहिले एउटा त प्रधानमन्त्री उपचारको क्रममा हुनुहुन्छ । उहाँको अहिले स्वास्थ्यलाभको कामना गर्ने हो ।’ उनले अहिले नै मुलुकमा एउटा राजनीतिक अनिश्चितता र अस्थिरता उत्पन्न हुनेगरि प्रधानमन्त्री परिवर्तनको कुरा तत्काल उठाउनु उपयुक्त नहुने जिकिर गरे ।
नेता पन्तले एमसीसीका कतिपय कुराहरु सच्याउने मिल्ने हो भने सच्याउने र त्यसमा नेकपाद्धारा गठित कार्यदलले केही सुझाव दिएको पनि सुनाए । उनले भने,‘अमेरिकासँगको सम्बन्ध र हाम्रो राष्ट्रिय विकासको आवश्यकत्तालाई हेर्दै त्यसका केही कमिकमजोरीलाई सच्याउन सकिन्छ भने त्यो दिशमा पनि प्रयत्न गर्दै पास गरेर जानुपर्छ भन्ने मलाई लाग्छ ।’
कोरोना भाईरस (कोभिड–१९) को प्रभावका कारण नेपालको विमानस्थलमा आवातजावत बन्द गर्न नहुने उनको तर्क छ । उनले भने,‘प्रधानमन्त्रीले यसको लागि विशेष बैठक बोलाएर आफ्नो संयोजकत्वमा बैठक बोलाउनुभएको छ । अहिले नै विमानस्थल बन्द गर्नुपर्छ भन्ने लाग्दैन् ।’ उनले गोकुल प्रसाद बाँस्कोटाको प्रकरणमा छानबिन हुनुपर्ने बताए । उनले भने,‘गोकुलजीको मुखपनि छुचो थियो । कामपनि विवाद भयो । यो प्रकरणमा ईमानदारीपूर्वक छानबिन हुनुपर्छ । दोषी भए उन्मुक्ति पाउनुहुँदैन् । छानबिन राम्रो होस् ।’