Logo

कोरोनाको कहरः मृत्युहुनेको संख्या तीन हजार नाघ्यो



बेइजिङ, फागुन १९ । चीनमा थप ४२ जनाको ज्यान भएपछि कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या तीन हजार नाघेको छ।कोभिड–१९ का मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका हुन्। उक्त भाइरस गत डिसेम्बर महिना त्यहाँबाट फैलिएन थालेको थियो।

चीनबाहेक अन्य १० देशमा पनि मानिसहरूको मृत्यु भएको छ।बीबीसीका अनुसार इरानमा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ। इटलीमा पनि ३० जनाको ज्यान गइसकेको छ। अहिले चीनबाहिर उक्त भाइरस तीव्र गतिमा फैलिरहेको छ।

तर सङ्क्रमण भएका अधिकांश मानिसमा सामान्य लक्षण देखिएको विश्व स्वास्थ्य सङ्गठनले आइतवार बताएको छ। कोरोनाभाइरस सङ्क्रमण भएका दुईदेखि पाँच प्रतिशत बिरामीको मृत्यु हुन सक्ने उसले जनाएको छ।

मौसमी रुघाखोकीको औसत मृत्युदर ०।१ प्रतिशत हुन्छ र भाइरस अतिसङ्क्रामक हुन्छ। त्यसबाट प्रतिवर्ष चार लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ। सार्स र मेर्सजस्ता कोरोनाभाइरस परिवारका अन्य विषाणुका कारण हुने मृत्युको दर कोभिड(१९ भन्दा धेरै छ।



प्रतिक्रिया दिनुहोस्