Logo

आधा दर्जन सचिवको सरुवा



काठमाडौं, फागुन २० । सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत आधा दर्जन सचिवको सरुवा, केहीको बढुवा र पदस्थापन गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ठूलो संख्यामा सचिवको सरुवा गरेको हो।

मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ। सचिवले अवकाश पाएपछि केही समययता उपराष्ट्रपतिको कार्यालयमा सचिव पद रिक्त थियो।

मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ। भूमिसुधार मन्त्रालयको सचिवमा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदार न्यौपानेलाई सरुवा गरिएको छ।

मन्त्रीपरिषद बैठकले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ। उद्योग मन्त्रालयकी सचिव यमकुमारी खतिवडालाई महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ।

मन्त्रिपरिषद्ले सहसचिव एकनारायण अर्यालयलाई सचिवमा बढुवा गरी काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ भने अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई कायम मुकायम राजस्व सचिव बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण गर्न सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुनुअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ठूलो संख्यामा सचिवको सरुवा गरेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot