Logo

सन्तनेता किशुनजीको नवौँ स्मृति दिवस



काठमाडौं, २० फागुन । नेपाली काँग्रेस संस्थापक नेता एवम् पूर्वप्रधामनमन्त्री कृष्णप्रसाद भट्टराईको नवौँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । आफ्ना संस्थापक नेताको स्मृतिमा काँग्रेसले भने कुनै औपचारिक कार्यक्रम आयोजना गरेको छैन ।

पार्टीले भट्टराईको योगदानलाई बिर्सिएको भन्दै काँग्रेसभित्र नेतृत्वको आलोचना भइरहेको छ । आजीवन प्रजातन्त्रका लागि संघर्ष गर्नुभएका सन्त नेता भट्टराईले अन्तिम समयमा आएर कांग्रेसले सिद्धान्त विपरित काम गरेको भन्दै पार्टीबाट अलग बस्ने घोषणा गरेका थिए ।
भट्टराईको ८७ वर्षको उमेरमा २०६७ साल फागुन २० गते निधन भएको थियो । भट्टराईको जन्म पिता संकटाप्रसाद र माता ललितादेवीको कान्छा छोराका रुपमा विक्रम सम्वत १९८१ पुस ८ गते भारतको बनारसमा भएको थियो ।

०३३ सालमा बीपी कोइरालाबाट कार्यबाहक सभापतिको जिम्मेवारी पाएका उनले ०५३ सालसम्म अनरवत रुपमा पार्टी सभापति सम्हालेका थिए। तत्कालिन विद्रोही माओवादी र सात राजनीतिक दलबीच भएको १२ बुँदे समझदारीसँगै काँग्रेसले संवैधानिक राजतन्त्रको धार परिवर्तन गरी गणतन्त्रलाई पार्टीको लक्ष्य बनाएपछि भट्टराईले जीवनको उत्तराद्धमा आफू काँग्रेस नभएको घोषणा गरेका थिए ।

आफ्नै प्रधानमन्त्रीत्वकालमा भएको २०४८ सालको आमनिर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं १ बाट एमाले नेता मदन भण्डारीसँग पराजित भएका थिए । उनी २०५६ को आमनिर्वाचनमा विजयी भएपछि दोश्रोपटक प्रधानमन्त्री बनेका थिए ।

०१५ सालमा प्रतिनिधिसभाको सभामुख र २०४६ सालको आन्दोलनपछि गठित अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराई निस्कलंक राजनेता मानिन्छन्। उनी २०१५ सालमा प्रतिनिधिसभाको सभामुख र नेपाल पत्रकार महासंघको संस्थापक सभापतिसमेत भएका थिए ।

भट्टराईको स्मृति दिवसका अवसरमा आज ललितपुरको बाँडेगाउँस्थित आश्रममा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । आश्रम परिसरमा रहेको भट्टराईको पूर्ण कदको प्रतीमा विशेष माल्र्यापण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot