काठमाडौं, २० फागुन । ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ७ः५७ बजे चीरोत्थान गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारी मिठाराम पुडासैनीले जानकारी दिए।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु हुने परम्परा छ । फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु पर्व हर्षोल्लासका साथ मनाइन्छ । चीर ठड्याएसँगै वसन्तपुरमा रङ्गीबिरङ्गी रङ खेली खुशी मनाइएको थियो ।
फागुन शुक्ल पूर्णिमाका दिन बेलुकी ७ः११ बजे चीर ढाल्ने साइत समितिले दिएको छ । सोही दिन राति ८ः५१ बजे चीर तानेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा फागुन २६ गते सोमबार र तराईका जिल्लामा फागुन २७ गते मङ्गलबार फागु पर्व मनाइँदैछ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम