काठमाडौं, २१ फागुन । प्रत्यारोपण गर्नु ठिक २४ घण्टाअघि मंगलबार त्रिवि उपकुलपति डा. धर्मकान्त बास्कोटाले त्रिवि शिक्षण अस्पतालको क्याबिन नं ६०१ मा नियाले। उनले देखे– प्रधानमन्त्री केपी ओली त हल्का व्यायाम गरिरहेका छन्।
ओलीको बुधबार बिहान नौ बजे मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। उनमा रत्तिभर चिन्ता देखिँदैन। प्रधानमन्त्री ओलीले चिकित्सकलाई नै ढुक्क हुन आग्रह गरेका छन्। रक्तचाप, शरीरको तापक्रमलगायत अन्य स्वास्थ्य अवस्थाको परीक्षणको रिपोर्ट राम्रो छ। त्रिवि उपकुलपति डा. बास्कोटाले भने, ‘उहाँलाई भेट्दा बिरामीजस्तै लाग्दैन। मनोबल पनि उच्च छ।’ अस्पतालको एनेक्स–२ मेडिकल वार्डको क्याबिनमा छन् ओली।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले प्रत्यारोपण गर्नुअघिको स्वास्थ्य विवरण राम्रो रहेको बताए। उनले भने, ‘प्रत्यारोपणका लागि आवश्यक औषधि दिइएको छ। विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण पनि गरियो।’ प्रत्यारोपणअघि नियमित डायलासिस र अन्य ल्याब परीक्षण गरिएको उनले बताए। गत कात्तिक १४ गतेदेखि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराइरहेका छन्। (अन्नपूर्ण पोष्ट्बाट)